द्वन्द्वपीडितलाई राहत माग्दै सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०७० पुष १७ गते १२:५१ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, १७ पुस– युद्धको समयमा विभिन्न किसिमका हिंसामा परेका पीडितको पहिचान गरी तिनलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

द्वन्द्वकालमा बालबालिका र किशोरीलगायतका महिलाले यौन हिंसा तथा अन्य अमानवीय क्रुर व्यवहारको पीडा भोग्नुपरेको, त्यसबाट उनीहरूको सामाजिक प्रतिष्ठामा खलल पुगेको, पारिवारिक जीवन भताभुंग भएको, स्वतन्त्र व्यक्तिका रूपमा पहिचान र आत्मसम्मान गुमेकाले तिनलाई पनि द्वन्द्वपीडितको कोटीमा राखी आवश्यक सहयोग र सुविधा उपलब्ध गराउन अन्तरिम आदेश जारी गर्न माग गर्दै द्वन्द्वपीडित समिति बर्दिया जिल्ला अध्यक्ष भागीराम चौधरीले सो रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,  गृह  मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, शान्ति कोष सचिवालय र संसद सचिवालयलाई विपक्षी बनाई दायर सो रिटमा द्वन्द्वपीडितका नाममा जारी भएका विभिन्न राष्ट्रिय नीति, निर्देशिका, नियमावली र सर्तमा यस्ता पीडितलाई द्वन्द्वपीडितको परिभाषामा समेट्न लगाउन परमादेश जारी गर्न पनि माग गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us