नेकपा-माओवादीका नेता शाहीविरुद्ध भ्रष्टाचारको आरोप

काठमाण्डु टुडे २०७० पुष १७ गते १२:०७ मा प्रकाशित

manarup-shahiकाठमाण्डु, १७ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा-माओवादी नेता मनरुप शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

समाज कल्याण परिषद्को कोषाध्यक्ष रहँदा शाहीले भ्रष्टाचार गरेको दावीसहित अख्तियारले मनरुपविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शाहीले परिषदमा रहँदा नयाँ कार्णाली विकास केन्द्रलाई २५ लाख दिइ अख्तियार दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरिएको हो । अख्तियारले २५ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन दफा ३ (१) को (च) बमोजिम सजाय माग गरेको छ ।

शाही नेपाल वायु सेवा निगमको कार्यकारी निर्देशकसमेत थिए । शाही नेकपा-माओवादीका नेता खड्गबहादुर विश्वकर्माका विश्वासपात्र मानिन्छन् । अख्तियारले समाज कल्याणबाट पाएको रकम दुरुपयोग गरी गैरकानुनी लाभ लिएको भन्दै केन्द्रका अध्यक्ष परेकबहादुर शाही, उपाध्यक्ष अंगबहादुर लामा र कोषाध्यक्ष गोपालबहादुर राउतविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले १४ लाख २३ हजार ६ सय ४६ रुपैयाँ ४७ पैसा बिगो ठहर गरी सोही बराबरको जरिवानाको माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us