
काठमाण्डु, १७ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगमा समानुपातिकतर्फका सभासदको सूची निर्वाचन आयोगमा बुझाएपछि पार्टीभित्र बढेको असन्तुष्टि समाधानको प्रयासमा आन्तरिक छलफल थालेका छन् ।
उनले बुधबार असन्तुष्ट नारायणकाजी श्रेष्ठसहित उनीपक्षधर नेताहरुसँग छलफल गरेका छन् । आफ्नै निवास लाजिम्पाटमा भएको छलफलमा उनले श्रेष्ठलाई असन्तुष्टि बाहिर राख्नुको सट्टा भित्रै छलफल गर्न आग्रह गरे ।
आफूले भनेअनुसार समानुपातिकमा प्रतनिधित्व नगराइएको भन्दै श्रेष्ठ र नेता बाबुराम भट्टराई अध्यक्ष प्रचण्डस“ग रुष्ट छन् । समानुपातिक सूचीपछि उत्पन्न विवादस“गै नजिकिएका भट्टराई र श्रेष्ठबीच प्रचण्डले एकलौटी ढंगले पेल्न खोजेको भन्दै मिलेर अघि बढ्ने सहमति भइसकेको छ ।
स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले समानुपातिक सूची सच्याउन नसकिने जावफ दिएका छन् । भेटमा सहभागी श्रेष्ठ पक्षधर नेता लीलामाणि पोखरेलले समानुपातिक सूचीबारे आफूहरुको असन्तुष्टि भन्दै बाहिर आएका खबरमा सत्यता नरहेको दाबी गरे ।
‘पहिल्यै छलफल गरेर टुंगो लगाएको भए हुन्थ्यो, सूची बुझाइसकियो, अब कुरा गरेर के अर्थ छ र ?’ पोखरेलले काठमाण्डु टुडेसँग भने, ‘कति मिल्यो, कति मिलेन, त्यो बहसको विषय हुनसक्ला । हाम्रो असन्तुष्टि भनेर जे कुरा बाहिर आएको छ, त्यो होइन ।’
पोखरेलले भेटमा समानुपातिक सूचीबारे नभई आगामी केन्द्रीय समिति बैठकका एजेण्डा, तथा पार्टी निर्माणका आन्तरिक र बाह्य चुनौतीबारे छलफल भएको बताए । लाजिम्पाट स्रोतका अनुसार अर्का असन्तुष्ट नेता भट्टराईस“ग पनि छलफल गर्ने तयारीमा प्रचण्ड छन् ।