आफ्नै कार्यकर्ताले नेतालाई कुर्सी हाने

काठमाण्डु टुडे २०७० पुष १७ गते ८:११ मा प्रकाशित

maoist flagपर्सा, १७ पुस – वीरगन्जको सम्झना होटलमा बुधबार एकीकृत नेकपा माओवादी पर्साका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै युवाहरुले हस्तक्षेप गरी पार्टी नेतृत्वको विरोध गर्नेलाई कुटपिट गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची सच्याउनुपर्ने मागसहित एमाओवादी पर्साका योगेन्द्र साहलगायतका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै कार्यकर्ता सुजित गिरीको नेतृत्वमा आएका युवाले पार्टी नेतृत्वको विरोध गर्नेलाई कुर्सी र मोटरसाइकलको हेल्मेटले प्रहार गरेका हुन् ।

गिरी नेतृत्वका युवाको कुटाइबाट क्रान्तिकारी पत्रकार संघका पर्सा जिल्ला अध्यक्ष आरके पटेल, जिल्ला सदस्य अनुपकुमार गुप्ता, वीरेन्द्र साह र पर्शुराम कुशवाहा घाइते भएको आयोजकले जनाएका छन् ।

घाइते सबैको छेउकै औषधि पसलमा लगि उपचार गरिएको एमाओवादी पर्साका कार्यालय सदस्य योगेन्द्र साहले बताए । उनले जिल्ला संयोजक प्रह्लाद गिरीको इसारामा आफूमाथि आक्रमण गरिएको आरोप लगाएका छन् । घटनास्थल पुगेर प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us