
दार्चुला, १७ पुस – दार्चुलाका सामुदायिक विद्यालयमा केही वर्षदेखि छात्राको सहभागिता बढ्दै गएको छ ।
गाउँ–गाउँमा विद्यालयको पहुँच हुनुका साथै छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकहरुमा चेतना बढेपछि पछिल्ला वर्षमा सदरमुकामका विद्यालयमा मात्र नभई दुर्गम गाउँका विद्यालयमा पनि छात्राको सङ्ख्या बढ्दै गएको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ ।
शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा लागू गरेको छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा जस्ता कार्यक्रमले पनि विद्यालयमा छात्राको सङ्ख्या बढेको निमित्त जिल्ला शिक्षा अधिकारी रामदत्त भट्टले बताए ।
जिल्लामा रहेका ५९० सामुदायिक विद्यालयमा आधारभूत तहमा भने छात्राभन्दा छात्रको सङ्ख्या बढी छ । निमावि र मावि तहमा कुनै विद्यालयमा छात्र–छात्रा बराबरी र कुनैमा छात्रा बढी रहेका निमित्त जिल्ला शिक्षा अधिकारी भट्टले जानकारी दिए ।
जिल्लाका सामुदायिक विद्यालयमा प्राथमिक तहदेखि उच्चमावि तहसम्म अध्ययनरत कुल विद्यार्थीको संख्या ४४ हजार ८८६ रहेको छ । जसमा २२ हजार ७७९ छात्रा र २२ हजार १०७ छात्र रहेका छन् । छात्रभन्दा छात्राको संख्या ६७२ ले बढी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।