कैलालीको काँग्रेस पार्टी कार्यालयमा तालबन्दी

काठमाण्डु टुडे २०७० पुष १७ गते ६:०९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735धनगढी, १७ पुस – समानुपातिकतर्फ सभासद् छनोट नातावाद कृपावादका आधारमा गरिएको भन्दै आक्रोशित नेपाली काँग्रेस सम्बद्ध महिला कार्यकर्ताहरुले काँग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाल महिला संघकी कैलाली जिल्ला अध्यक्ष कुन्तिदेवी चटौतलगायत असन्तुष्ट महिला कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । सभासद् छनोटमा लामो समयदेखि पार्टीका लागि त्याग गरेका महिलालाई उपेक्षा गरिएकाले त्यसलाई सच्याउनुपर्ने कार्यकर्ताहरुको माग रहेको छ ।
प्रत्यक्षतर्फको निर्वाचनमा कैलालीका ६ निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचनमा विजयी भएको काँग्रेसले समानुपातिकमा एक महिला र दुई पुरुषलाई सभासद् बनाउन निर्वाचन आयोगमा सूची बुझाएको समाचार सार्वजनिक भएसँगै स्थानीय महिला कार्यकर्ताहरु आक्रोशित भएका हुन् ।
दोस्रो ठूलो दल नेकपा (एमाले)मा पनि समानुपातिक सभासद् छनोटको विषयलाई लिएर व्यापक असन्तुष्टि बढेको छ । प्रत्यक्षमा एक क्षेत्रमा विजयी एमालेले समानुपातिकमा कैलालीबाट एक जना महिलालाई मात्र सभासद् बनाएकोमा आक्रोशित हुँदै स्थानीय कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका छन् ।

यसैगरी प्रत्यक्षमा एक क्षेत्रमा मात्र विजयी भएको एमाओवादीले समानुपातिकमा कैलालीबाट एक जना मात्रै पुरुष सभासद् बनाएपछि सो पार्टीमा पनि असन्तुष्टि देखिएको छ ।

दुई क्षेत्रबाट प्रत्यक्षमा विजयी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले भने कैलालीबाट समानुपातिकमा एक जना पनि सभासद् बनाएको छैन । प्रत्यक्षमा एक सीट पनि नजितेको राप्रपा नेपालले भने समानुपातिकमा जिल्लाबाट एक महिलालाई सभासद् बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us