संरक्षणका लागि ६० किलोमिटर गस्ती मार्ग

काठमाण्डु टुडे २०७० पुष १७ गते ५:३७ मा प्रकाशित

रत्ननगर, १७ पुस–चितवन राष्ट्रिय निकुञ्जले जीबजन्तु संरक्षणका लागि राप्ती नदी किनारमा ६० किलोमिटर गस्ती मार्ग निर्माण गरेको छ । नदीमा हुने प्रदूषण न्यूनीकरण गरी गोहीको संरक्षण र निकुञ्जको सुरक्षाका लागि गस्ती मार्ग निर्माण गरी बुधबारदेखि पैदल गस्ती सुरु गरिएको हो ।

चितवन निकुञ्जको पूर्वी क्षेत्र सुनाचुरीबाट राप्ती नदी किनारै किनार गोलाघाटसम्म गस्ती मार्ग निर्माण गरी काम सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए । यो मार्गमा निकुञ्जका संरक्षणकर्मी र नेपाली सेनाले गस्ती गर्ने र निकुञ्ज छिर्न लागेका मानिसलाई पस्न नदिने तथा नदीमा हुने प्रदूषणलाई रोकिने उनको भनाइ छ ।

राप्ती नदीमा खासगरी घडियाल गोहीको बासस्थान रहेको छ । बाघ, गैंडाभन्दा २० गुणा बढी सङ्कटापन्न रहेको घडियाल गोही प्राकृतिक बासस्थानमा एक प्रतिशत पनि बाँचेको छैन ।

मुख्यगरी नदी प्रदुषित बन्दै जानु, आधुनिक (तयारी) जालको प्रयोग हुनु र माछाको अभावलगायत कारणले गोही बाँच्न नसकेको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले बताए ।

नेपालमै एक मात्र गोही प्रजनन केन्द्र चितवन निकुञ्जमा छ । यहाँबाट हालसम्म ९ सय २१ गोही नदीमा लगेर छाडिए पनि १ सय २४ गोही मात्र भेटिएका छन् । अन्य गोही बाँच्न नसकेकाले नयाँ संरक्षणको योजनाअनुसार पैदलगस्ती सुरु गरिएको निकुञ्जले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us