
काठमाण्डु, १७ पुस–नेकपा एमालेका सचिव शंकर पोख्रेलले अयोग्यलाई पनि योग्य बनाउने खेलमा शिक्षा सेवा आयोगको परीक्षा रोकिएको आशंका गरेका छन् ।
शिक्षा सेवा आयोगले देशभर लिएको परीक्षाको अन्तरवार्ताको समय र स्थान तोकिए पनि अन्तिम समयमा स्थगित हुनुको कारणबारे बिभिन्न अड्कालबाजी भैरहेकोबेला पूर्व सन्चारमन्त्री समेत रहेका पोख्रेलले अयोग्यलाई पनि योग्य बनाउने चलखेल भैरहेको अनुमान गरेका हुन् ।
शिक्षा सेवा आयोगको परीक्षामा अनियमितता भएको भन्दै अख्तियारले अन्तरवार्ता रोक्न निर्देशन दिएपछि आयोगले सबै जिल्लाको अन्तरवार्ता स्थगित गरेको थियो । लिखित परीक्षामा पास भएर अन्तरवार्ता दिन ठिक्क परेकाहरु पनि परीक्षा स्थगित भएपछि अन्यौलमा परेका छन् ।
एमाले सचिव शंकर पोख्रेलले बुधबार आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, शिक्षा सेवा आयोगले सुरु गरेको अन्तरवार्ता रोकेर कतै गोविन्दराज जोशीको पालामा झैं अयोग्यलाई योग्य बनाउने कोशिश त भइरहेको छैन ?’
यसअघि काँग्रेस नेता जोशी शिक्षा मन्त्री हुँदा लिइएको परीक्षामा चलखेल गरी आफू निकटकालाई उत्तिर्ण गराइएको आरोप लाग्दै आएको छ ।