सल्यानमा बस दुर्घटना, ११ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष १७ गते १०:०० मा प्रकाशित

Salyan Mapसल्यान, १७ पुस–सल्यानको बाँझकाँडामा बुधबार विहान यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । काठमाण्डुबाट रुकुमका लागि छुटेको लु १ ख ८२९० नम्बरको रात्रीबस सडकबाट झण्डै १ सय मिटर तल शारदा खोलामा खसेको छ ।

दुर्घटनामा परी रुकुम छिवाङ १ की २२ वर्षिया करुणा घर्ती, कोरियाबाट घर फर्कदै गरेका रुकुम खलंगा १ का ३१ वर्षका आनन्द केसी, काठमाडौँबाट उपचार गरेर घर फर्कदै गरेकी सल्यान वाँझकाडा १ मोख्लाकी २८ वर्षकी भुमा बुढाथोकी, महेन्द्र दल गण रुकुममा कार्यरत नेपाली सेनाका हवल्दार घोराही दाङका ३७ वर्षिय राजेश बुढा, रुकुम शाँख झुल्खेतका २६ वर्षिय प्रेम बुढामगर, रुकुम खलंगा १ का  २३ वर्षिय सुजन शाह,  रुकुम आठविसकोट ३ की प्रेमी बुढाको ३ वर्षको वच्चा र चौखावांग २ रुकुमका २५ वर्षिय मनबहादुर बुढाको मृत्यु भएको छ ।

घाइतेहरुको उपचार श्रीनगरस्थित कान्तिपुर अस्पतालमा भैरहेको छ ।
तनहुँमा ६ पर्यटकको मृत्यु

यसैगरी पोखराबाट वीरगन्जकोलागि भारतिय पर्यटक लिएर हिडेको जिप तनहुको बन्दीपुरमा दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत कोलकत्ताका ५८ बर्षीय बिनय कुमार तिवारी, ५६ बर्षीया कमलावति तिवारी, ३३ बर्षीया पुनम त्रिपाठी, २० बर्षीया नेहा त्रिपाठी, ३७ बर्षीया निलम त्रिपाठी र १३ बर्षीय हेमन्त त्रिपाठी रहेका छन् ।

दुर्घटनामा घाईते भएका ५ जनामध्ये ५ बर्षीय आशिष दुवेको अवस्था गम्भीर रहेकाले उपचारको लागि काठमाण्डु ल्याइएको छ । अन्य घाईतहरुको भने लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको छ ।  गएराति ११ बजे ग १ य ६६९ नम्बरको पर्यटक जिप मर्स्याङ्दी नदीमा खसेको हो ।

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

अर्घाखाँचीको नरपानीमा आज बिहान ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धीखर्कका ४५ बर्षीय हरी खड्का रहेका छन् । खड्काको उपचारको क्रममा जिल्ला अस्पताल सन्धीखर्कमा मृत्यु भएको हो ।

बुधबार बिहान पौने ३ बजे नरपानीबाट सन्धीखर्क तर्फ जाँदै गरेको लु २ त ८५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us