प्रेस स्वतन्त्रतामा सुधार

काठमाण्डु टुडे २०७० पुष १६ गते १४:५६ मा प्रकाशित

नारायणप्रसाद घिNepal Press unionमिरे/कृष्ण सापकोटा । काठमाण्डु– विगत वर्ष झैं यस वर्ष (२०१३) पनि प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना जारी रहे तर अघिल्लो वर्षको तुलनामा सन् २०१३ मा प्रेस स्वतन्त्रताका क्षेत्रमा केही सुधार देखिए ।

सन् २०१२ मा उल्लङ्घनका घटना १४७ थिए भने विगत एक वर्षमा यो सङ्ख्या घटेर ५९ पुग्यो । फ्रिडम फोरम नेपालले तयार पारेको वार्षिक प्रतिवेदनअनुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका ५९ घटनामध्ये आक्रमण १५, हातपात छ, विस्थापन एक, गम्भीर चोटपटक एक, ज्यान लिने धम्की चार, तोडफोड चार, धम्की छ , कामबाट निकाला चार, पक्राउ पाँच  र  अवरोध छ लगायत छन् ।

स्वतन्त्र प्रेस र पत्रकारमाथि आक्रमण, धम्की, ज्यानको धम्की, धरकपड, पत्रपत्रिका जलाउने, प्रेस सवारीमा आगजनी गर्नेमा राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, सुरक्षा निकाय, व्यपारी, अज्ञात समूह/व्यक्ति रहेको जनाइएको छ ।

प्रतिवेदनअनुसार  प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा ह्रास आउनाका साथै सोसम्बन्धी दण्डहीनतामा पनि केही सुधार आएको छ । घटनाको आठ वर्षपछि पत्रकार डेकेन्द्र थापको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही हुनु, पत्रकार यादव पौडेलको हत्यामा संलग्नलाई जन्मकैद हुनु र पत्रकार उमा सिंहको हत्यामा संलग्न मुख्य अभियुक्तको पक्राउ र कारबाही हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।

यस वर्षको सुरुआत प्रेस स्वतन्त्रता र पत्रकारको स्वतन्त्ररुपमा समाचार सङ्कलन गर्न पाउने अधिकारमा सरकारकै कारण ठूलो चुनौती खडा भएको थियो । डा बाबुराम भट्टराई नेतृत्वको सरकारले पत्रकार  थापाका हत्यारालाई कारबाही नगर्न गरेको प्रयासका कारण देशभर पत्रकार विचलित भए  र २२  पत्रकारले आफ्नो कार्यक्षेत्रसमेत छाडेर विस्थापित हुनुपर्‍यो ।

अन्ततः ठूलो दबाबपछि हत्यारालाई कानुनी कठघरा ल्याइएको थियो । खिलराज रेग्मी नेतृत्वको सरकारको आगमनसँगै पत्रकारमाथि हुने धम्की आक्रमणमा कमी आउन थाल्यो । संविधानसभाको दोस्रो निर्वाचनका समयमा स्वतन्त्र पत्रकारितामा ठूलो चुनौती खडा हुने हो कि भन्ने आशङ्का भए पनि स्वतन्त्र सरकारको प्रभावकारी क्रियाकलापले भने पत्रकारले त्यति चुनौती खेप्नु परेन ।

तर  चुनावताका भने अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घनका थुप्रै घटना भए । निर्वाचन बहिस्कार गर्ने दल नेकपा–माओवादीका कारण धेरै व्यक्ति, विशेषगरी राजनीतिक नेताहरुले आफ्नो अभिव्यक्ति स्वतन्त्रताबाट विमुख हुनुपरेको थियो । यस वर्षको पत्रकारितामा देखापरेको नयाँ प्रवृत्तिको रुपमा अनलाइन पत्रकारिता र सामाजिक सञ्जालको अभिव्यक्तिलाई लिन सकिन्छ ।

फेसबुक र अनलाइन पत्रिकामा आएका समाचारका कारण यस वर्ष तीन पत्रकार पक्राउमा परे ।  त्यसैगरी  पत्रकारिता क्षेत्रमा यस वर्ष कुनै विशेष नीति नआए पनि मन्त्रालयस्तरबाट अनलाइन पत्रकारितालाई व्यवस्थित गर्न अध्ययन समिति बनाएको कुरालाई सकारात्मकरुपमा लिन सकिन्छ ।

यसैबीच प्रेस स्वतन्त्रता उल्लङ्घनमा आएको कमीबारे रासससँग कुरा गदै फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले भने, ‘यो तुलनात्मकरुपमा स्थिर सरका र राजनीतिका कारणले भएको हो, पछिल्लो समय सरकार स्थिर छ , जति देशमा अस्थिर राजनीति रहन्छ, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता त्यतिकै मारमा पर्छ ।’

उनका अनुसार नेपालमा व्यावसायिक पत्रकारिताको स्थितिमा अझै सुधार हुनु जरुरी छ, धेरैजसो पत्रकार न्यून तलबमा काम गर्न बाध्य छन् । व्यावसायिक पत्रकारिताको कुरा गर्दा, कतिपय पत्रकारले आफ्नो पेसालाई मर्यादा नगर्दा, आचारसंहिताको सही पालना नगर्दा दुःख पाएका घटना पनि यस वर्ष प्रकाशमा आए ।

‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको अभिन्न तत्व हो, अबको संविधानमा अभिव्यक्ति स्वतन्त्रता/प्रेस स्वतन्त्रताको पक्षलाई सम्बोधन गर्नु पर्छ जसले गर्दा पत्रकारको अधिकार सुरक्षित होस् र लोकतन्त्र पनि मजबुत होस् ।’ दाहाल भन्छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us