
काठमाण्डु, १६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यलयमा सोमबारदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा मंगलबार गठन गरिएको सो समितिमा वरिष्ठ केन्द्रीय सदस्य निरञ्जन थापा र केन्द्रीय सदस्य खगेन्द्र बस्न्यातलाई सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । पार्टीमा अब समितिको सङ्ख्या १४ पुगेको छ ।
बैठकले पार्टीप्रति असन्तुष्ट भई पार्टी फुटाउने पक्षलाई सो निर्णय फिर्ता लिई चित्त नबुझेका विषयवस्तुलाई छलफलबाट टुङ्गाउन ४८ घन्टाको समय दिने निर्णय गरेको छ ।
‘चौथो शक्तिलाई विभाजन गर्ने षड्यन्त्र भइरहेकाले’ त्यसप्रति सतर्क रहँदै सबै कार्यकर्तालाई कटिबद्ध भई दृढतापूर्वक अघि बढ्न आह्वान गरेको छ ।
बैठकले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको माग गर्दै र नयाँ मुद्रा निष्काशन गर्दा उनको तस्बिर अङ्कित गर्न सरकारसँग आग्रह गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । बैठक बिहीबारसम्म चल्ने बताइएको छ ।
यसैबीच असन्तुष्ट नेता टङ्क ढकाल राप्रपा नेपालको बैठकमा सहभागी भई पार्टीको सिद्धान्तप्रति आफूहरु प्रतिबद्ध रहेको भए पनि पार्टी नेतृत्वले एकलौटी ढङ्गले गरेका निर्णयप्रति असहमति रहेको भन्ने धारणा व्यक्त गरेको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए । रासस