२०१३ मा १०८ पत्रकार मारिए

काठमाण्डु टुडे २०७० पुष १६ गते १३:४४ मा प्रकाशित

ब्रसेल्स, १६ पुस– विश्वमा सन् २०१३ मा कम्तीमा १०८ जना पत्रकारको कामकै सिलसिलामा मृत्यु भएको छ । उनीहरु समाचार संकलन तथा सम्प्रेषणकै क्रममा मारिएका हुन् ।

अन्तर्राष्ट्रिय पत्रकार संघ (आइएफजे)को तथ्याङ्कअनुसार विश्वमा सन् २०१३ मा कार्यरत रहेकैक्रममा मृत्यु भएको समाचारमा जनाइएको छ । यसरी मारिने पत्रकारमध्ये अधिकांश विगत करिब ३० महिनादेखि द्वन्द्व जारी रहेको सिरिया र विगतका कयौँ वर्षहरुदेखि हत्याहिंसा जारी रहेको इराकमा मारिएका छन् ।

उक्त हत्या विगतको वष्र्न सन् २०१२ को तुलनामा १० प्रतिशतले कमी आएको छ । तरपनि उक्त संस्थाले पत्रकारहरुको हत्याको शृङ्खला नराम्रो रुपमा आइरहेकोले यसको नियन्त्रणका लागि विश्वका देशका सरकारहरुले नै विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ ।

उक्त संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, यो हत्याको प्रकृति एकदमै अकल्पनीय रहेकोले उक्त अवस्थाको नियन्त्रण गरी पत्रकारहरुको जीवन रक्षाको लागि सबैको पहल जरुरी रहेको छ । यसरी मारिएका पत्रकारहरु एसिया तथा प्यासिफिक क्षेत्रका २९ प्रतिशत रहेका छन् । त्यस्तै मध्यपूर्वी क्षेत्रका अरब राष्ट्रहरुमा यो प्रतिशत २७ रहेको छ ।

उक्त विज्ञप्तिमा जनाइएअनुसार सन् २०१३ मा सबैभन्दा धेरै पत्रकार सिरियामा मारिएका छन् । सिरियामा यसवर्ष १५ जना पत्रकारको ज्यान गएको छ ।     त्यस्तै पत्रकारहरु धेरै मारिने दोस्रो देशका रुपमा इराक रहेको छ ।

इराकमा यसवर्ष १३ जना पत्रकार मारिएका छन् । यसवर्ष पाकिस्तान, फिलिपिन्स र भारतमा दश दशजना पत्रकार मारिएका छन् । त्यसैगरी सोमालियामा सात र इजिप्टमा छ जना पत्रकार मारिएका पनि सो समाचारमा जनाइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us