
चितवन, १६ पुस – पूर्वी चितवनको सबैभन्दा विकट मानिने लोथर–९, कान्दाका चेपाङ समुदायमा अत्यधिक चिसोका कारण श्वासप्रश्वासमा समस्या देखिएका छ ।
गर्मी समयमा समेत खासै गर्मी नहुने र ठन्डीमा हिउँ पर्ने सो क्षेत्रमा जाडोले चेपाङ परिवारको स्वास्थ्यमा विभिन्न समस्या देखिएको चिकित्सकले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय युवा तथा विद्यार्थी संगठन नेपाल (युनिसान) मा आबद्ध चितवन मेडिकल कलेज एकाइका विद्यार्थीले गरेको स्वास्थ्य शिविरमा उनीहरुमा पर्याप्त कपडाको अभावका साथै चिसोबाट बच्ने उपायको बारेमा चेतना नहुँदा सबैभन्दा बढी श्वासप्रश्वासको समस्या देखिएको हो ।
शिविरमा तीन दिन लगाएर सयौँ परिवारको स्वास्थ्य परीक्षण गरिएको स्थानीय शिक्षक बालकृष्ण थपलियाले बताउनुभयो ।
सो क्रममा चितवनको लोथर–९ र कोराक–४ मा बसोवास गर्ने अति विपन्न चेपाङ समुदायका ८० परिवारलाई करिब तीन हजार थान लत्ताकपडा तथा नुन तेलसमेत वितरण गरिएको थियो । टोली मंगलबार कार्यक्रम सकेर भरतपुर फर्किएको छ ।
शिविरमा आएका बिरामीमध्ये अधिकांशमा अत्यधिक जाडोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको आयोजक संस्थाका संयोजक सुवासचन्द्र गौतमले जानकारी दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीले कान्दावासी चेपाङ समुदायको जीविकोपार्जन सुधारका लागि गठित स्थानीय बचत समूहलाई आफ्नोतर्फबाट पाँच हजार नगद सहयोग पनि हस्तान्तरण गरेको उनले जानकारी दिए । स्वयमसेवक टोलीमा संयोजक गौतमलगायत १३ जना चिकित्सा शास्त्रका विद्यार्थीको सहभागिता थियो ।
तीन वर्षअघि सोही गाउँमा विषालु च्याउका कारण एकै परिवारका आठ जनाको ज्यान गएपछि त्यहाँ मितेरी फाउन्डेसनले विभिन्न जनचेतनामूलक कार्यक्रम र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्दै आएको संयोजक एकल सिलवालले जानकारी दिए ।