नेपालका नेता केजरीवाल बन्न सक्लान् ?

काठमाण्डु टुडे २०७० पुष १४ गते ३:२० मा प्रकाशित

131225083249_arvind_kejriwal_304x171_afpgetty_nocreditएमालेद्धारा अगाडि सारिएको घोषणापत्रमा सात प्रदेशको अवधारणा पेश गर्ने परशुमेघी गुरुङ संबिधानसभामा छिर्न नपाउने भए । लोकतान्त्रिक क्रान्तिका लागि रत्नपार्कमा रगत बगाउने रामकुमारी झाँक्री पनि एमालेको समानुपातिक सूचीमा परिनन् । ७७ बर्षका बृद्ध भरतमोहन अधिकारी र व्यापारी राज्य लक्ष्मी गोल्छा एमालेको समानुपातिक सूचीमा परेका छन् ।

पार्टीमा योगदान गरेर व्यक्तिलाई पन्छाएर चुनावमा चन्दा दिनेलाई प्राथमिकता दिएर समानुपातिको सूची बनाउनु पनि एक किसिमको भ्रष्टाचार नै हो । दक्षिणी छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा सपथग्रहण गरे लगत्तै नौ जना सचिव सरुवा गरेर भ्रष्टाचार जन्य गतिबिधि नियन्त्रणको प्रयास थालिएको छ ।
भारतका भ्रष्टाचारविरोधी अभियन्ता अरविन्द केजरीवालले शनिबार राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा सपथग्रहण गरेका छन् । उनका समर्थकहरूले भारतको भ्रष्टाचारग्रस्त राजनीतिमा यो घटना परिवर्तनको बिन्दुको रूपमा रहने आशा व्यक्त गरेका छन् ।

कार्यक्रमस्थलमा नगरको मेट्रोबाट पुगेका केजरीवालले दिल्लीको खुल्ला मैदानमा आफ्ना लाखौँ समर्थकका अगाडि सपथग्रहण गरे । उनका समर्थकहरूले पनि उनले जस्तै टोपी लगाएका थिए र जसमा ‘म आमव्यक्ति’ हुँ भन्ने लेखिएको थियो ।

‘‘म मन्त्रीको रूपमा आफ्नो कर्तव्य इमानदारीपूर्वक कुनै डर र मुलाहिजा नगरी पूरा गर्नेछु’, केजरीवालले सपथग्रहण गरे । सपथग्रहण कार्यक्रममा ‘आमआदमी पार्टी’ तथा ‘भारतमाता’ को पक्षमा नारा लगाइएको थियो । समर्थकहरूले बोकेको प्लेकार्डमा ‘आज दिल्ली, भोली मुलुक’ भनी लेखिएको थियो । Kejariwal
प्रहरीले कार्यक्रममा करिब एक लाख व्यक्ति सहभागी भएको अनुमान गरेको छ । हालै स्थापना भएको आमआदमी पार्टीले दिल्ली विधानसभाको निर्वाचनमा २८ स्थान प्राप्त गरेको छ । यस दलले केन्द्रीय सरकार सञ्चालन गर्ने कङ्ग्रेस पार्टीलाई पराजित गरिदिएको थियो ।

‘‘यो आममानिसको विजय हो’’ केजरीवालले मेट्रोबाट सपथग्रहणस्थल जानु पूर्व भनेका थिए । हालसम्म भारतमा कुनै पनि मुख्यमन्त्रीले सपथग्रहण गर्न यसरी मेट्रोको उपयोग गरेका थिएनन् ।

‘‘यदि हामी एक भयौँ भने मुलुकलाई परिवर्तन गर्नसक्छौँ’’, उनले भने । पूर्व कर निरीक्षक केजरीवालले निर्वाचनपूर्व दिल्लीको राजनीतिक वृत्तमा कायम अति महत्वपूर्ण व्यक्तिको संस्कार अन्त्य गर्ने बचन दिएका थिए ।

रामलीला मैदानमा केजरीवालको सपथग्रहण कार्यक्रममा कुनै पनि महत्वपूर्ण व्यक्तिलाई बोलाइएको थिएन । यस मैदानलाई भारतमा भ्रष्टाचारविरोधी आन्दोलनको मुख्यस्थलको रूपमा लिइन्छ । यहाँ दुई वर्ष अगाडि सरकारीस्तरमा हुने भ्रष्टाचारको विरोधमा आन्दोलन आरम्भ भएको थियो ।

केही विश्लेषकले दिल्लीमा केजरीवालको विजय भारतको राष्ट्रिय निर्वाचनको आरम्भको रूपमा हेरेका छन् । यस दलको चिह्न कुचो रहेको छ र यसलाई भारतमा घुस तथा भ्रष्टाचार बढार्ने औजारको रूपमा हेरिएको छ । आलोचकहरूले भारतको राजनीति तथा दैनिक जीवनमा घुस र भ्रष्टाचार व्यापक रहेको बताउँछन् ।
इन्डिया टुडेको ‘न्युजमेकर अफ द एयर’ केजरीवालाले सपथग्रहण कार्यक्रमपछि पनि ‘साइरन’सहितको सरकारी गाडी उपयोग गरेनन् ।

उनले नयाँ दिल्लीको राजनीतिज्ञका वरपर रहेका सुविधाको संस्कार हटाउने घोषणा गरेका थिए । ट्याक्सी चालक, शिक्षक, व्यापारी तथा कर्मचारी समर्थक रहेका केजरीवालले सरकारी भवनको उपयोग नगर्ने बताएका छन् ।

इन्डिया टुडेका प्रधानसम्पादक अरुण पुरीले आफ्नो सम्पादकीयमा केजरीवाल भारतीय राजनीतिमा नयाँ नैतिक बलको रूपमा उदय भएको बताएका छन । उनले मतदातालाई उद्धारकर्ताको रूपमा रहेको भनी उनीहरूको अपेक्षा पूरा गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

केजरीवाल भारतका पाका सामाजिक कार्यकता अन्ना हजारेका सल्लाहकारको रूपमा राष्ट्रको अगाडि देखा परेका हुन् । उनको भ्रष्टाचारविरोधी आन्दोलनले भारतलाई तताएको थियो ।

यसपछि केजरीवालले आफ्नो दल स्थापना गरेका हुन । दिल्लीको विधानसभामा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले ३१ स्थान प्राप्त गरी सबैभन्दा ठूलो दल बनेको थियो । केजरीवाललाई कङग्रेसले बाहिरबाट समर्थन दिएको छ र उसले आठ स्थान प्राप्त गरेको छ ।

आरम्भमा केजरीवालले कङ्ग्रेसको समर्थन नलिने बताएका थिए । उनले भ्रष्टाचारका लागि कङ्ग्रेस पार्टीको निकै आलोचना गरेका थिए । पछि इमेल र टेक्स्ट सन्देशमा दिल्लीका नागरिकले उनलाई सरकार गठन गर्न आग्रह गरेका थिए ।

केजरीवालले विश्वको सबैभन्दा भीडयुक्त, गरिबीग्रस्त, प्रदूषित, स्वच्छ पानी तथा भरपर्दो उर्जा नभएको नगरको व्यवस्थापन गर्नुपर्छ र यो सजिलो कार्य होइन । यहाँका सडकको अवस्था पनि निकै खराब छ ।

नेपालका राजनीतिक दल र तिनका नेताहरुले केजरीवालबाट सिकेर आफनो जीवनशैलीलाई परिवर्तन गर्न सक्लान् ? भ्रष्टाचार र अराजकताले गाँजेको नेपालमा पनि केजरीवाल जस्तै नेताको खोजी आम जनताले गरिरहेका छन् ।

भारतमा काँग्रेस आइ र भारतीय जनता पार्टीले जनहित बिपरित काम गर्दा आम आदमी पार्टी जन्मिएको हो । नेपालका प्रमुख राजनीतिक दलले पनि जनताको सेवा गर्ने भन्दा राजनीतिलाई पेशा र व्यवसाय बनाएका कारण अराजकता र अस्थिरता छाएको हो । प्रमुख राजनीतिक दलले पनि आफूलाई रुपान्तरण गरेर आफनो कार्यशैली र जीवनशैलीमा परिवर्तन गर्न सकेनन भने नेपालमा पनि अर्को नयाँ पार्टी जन्मिन सक्छ । त्यसैले नेपालका नेताहरुले आफनो घमण्ड तोडेर जनताको वीचमा जाने आँट देखाउन र जनसेवा गरुन्। त्यसैमा उनीहरुको भबिश्य सुरक्षित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us