११ र १२ को परीक्षा प्रणालीमा सुधार

काठमाण्डु टुडे २०७० पुष ११ गते ४:३२ मा प्रकाशित

hsebभक्तपुर, ११ पुस–उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले बारकोड युक्त मार्कस्लिप प्रयोगमा ल्याएको छ । परिषदले सञ्चालन गर्दै आएको कक्षा ११ र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार गर्दै उत्तरपुस्तिकामा बारकोड र अप्टिकल मार्क रिडर प्रयोगमा ल्याइएको हो ।

परिषद्का कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालले परीक्षा प्रणालीमा सुधार आएपछि अब विगतमा जस्तो विवाद नआउने विश्वास व्यक्त गरे । उनले यसमा कक्षा ११ मा रजिस्ट्रेसन आवेदन भर्दादेखि प्रयोग गरेको फोटो, विद्यार्थीका दस्तखत लगायतका सबै कुरालाई स्क्यान गरी विद्यार्थीलाई रजिस्टे«सन प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिए । यसै अनुरुप विद्यार्थीको परीक्षा फारामदेखि परीक्षाफल प्रकाशन भएर प्रमाणपत्र लैजाँदासमेत बारकोडमार्फत रुजु गर्ने भएकाले नक्कली परीक्षार्थीले परीक्षा दिने र नक्कली प्रमाणपत्र बनाउने सम्भावना नरहने उनको दावी छ ।

परिषद्ले भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) विधि द्वारा ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रसम्बन्धी कार्य गर्न र नक्कली प्रमाणपत्रको अन्त्य गर्न कार्ययोजना अगाडि ल्याएको छ । परिषदले आम्दानीलाई व्यवस्थित गर्न कम्प्युटर बिलिङ प्रणाली पनि सुरु गरेको छ ।

विगतका वर्षमा प्रश्नपत्र छपाइ लगायतका कार्यमा करोडौं रुपैयाँ पेस्की दिएर मात्र छपाइ गर्ने गरिएकामा अहिले पेस्की नदिई प्रश्नपत्र लगायतका छपाइ कार्य गर्न सुरु गर्दा परिषद्को लगानीसमेत बचेको छ । भारतमा छापिँदै आएको कक्षा ११ र १२ को प्रश्नपत्र नेपालमै गोप्यरुपमा छपाइ सुरु गरेपछि परिषद्लाई प्रश्नपत्र छपाइबाट मात्रै वार्षिक ५० देखि ७० लाखसम्म बचत हुने गरेको छ ।

त्यसैगरी परिषद्ले सुरुमा ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल लगायतका प्रमाणपत्रहरु छपाइ गर्दा प्रतिप्रमाणपत्र १८ रुपैयाँ तिर्ने गरेकामा अहिले आर्थिक ऐननियमको पालना गरी एक रुपैयाँ ५० पैसामा नै छपाइ गर्ने गरेको छ । यस्ता प्रमाणपत्रहरु परिषद्ले अहिले जिल्लास्थित कार्यालयहरुबाटै वितरण गर्न थालेपछि विद्यार्थीहरुलाई समेत निकै सहज भएको छ ।

परिषदले स्थायी कर्मचारीको अभावमा भने व्यापक समस्या झेल्नु परेको छ । परीक्षा नियन्त्रक अर्यालका अनुसार परिषदमा ३२० जना कर्मचारी रहेकामा ११० जना कर्मचारी मात्रै स्थायी रहेको र आफ्नै शिक्षकसमेत अभाव नभएकाले समस्या झेल्नु परेको हो । साथै सरकारको कम लगानीका कारण समस्या भोग्दै आएको परिषदले भौतिक पूर्वाधारको अभावमा समेत धेरै समस्या परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us