
काठमाण्डु, १० पुस – संविधानसभा निर्वाचनपछि सामाजिक सञ्जालहरु मार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै आएका एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले आफूमाथि आफ्नै भन्नेहरुबाट खतरा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत उनले आफ्ना अभिव्यक्ति र विचारहरुको आलोचना भएकामा रोष प्रकट गरेका छन् । भट्टराईले लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे चलाउन चाहेको सार्वजनिक बहसका सम्बन्धमा सैद्धान्तिक बहसको प्रक्रियामाथि नै बन्देज लगाउने धृष्ठता गरेको भन्दै चित्त दुखाएका छन् ।
भट्टराईको त्यस्तो विचारको पार्टी भित्रसमेत चर्काे आलोचना भइरहेको छ । खासगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेता–कार्यकर्ताले उनको अभिव्यक्तिलाई नेतृत्व हत्याउने चालबाजीका रुपमा ब्याख्या गरेका छन् ।
‘चोरको खुट्टा काट् भन्दा चोरले नै खुट्टा थुते झैं मैले समकालीन विश्वको सबभन्दा महत्वपूर्ण वैचारिक राजनीतिक प्रश्न लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे चलाउन चाहेको सार्वजनिक वहसबारे धेरैले अत्यन्तै सकारात्मक धारणा राखे पनि केही वाम वृत्त भित्रकै महानुभावहरुले भने सैद्धान्तिक वहसको प्रक्रियामाथि नै वन्देज लगाउने ध्रिष्टता गरेको देख्दा कम्युनिष्ट आन्दोलन अन्तरा रुपमा किन रक्षात्मक बन्न पुगेको रहेछ भन्ने बुझ्न थप मद्दत पुगेको छ,’ भट्टराईले भनेका छन्, (Oh God, save me from my friends, I can take care of my enemies myself .) हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको सामना गर्न म आफैं सक्षम छु ।’
भट्टराई आफ्नै अभिव्यक्ति र विचारका कारण समय–समयमा विवादमा तानिने गरेका छन् । भट्टराईका अभिव्यक्तिले बेलाबखत माओवादी भित्र ठूलै तरङ्ग आउने गरेको छ ।
यसअघि छोरी मानुषी सम्पादक रहेको ‘रातो झिल्को’ म्यागाजिनमा ‘आजको माक्र्सवाद’ शीर्षकमा भट्टराईले पछिल्लो समय विश्व राजनीति स्तालिनले भनेभन्दा ट्रटस्कीले भनेको दिशामा अघि बढेको लेखेका थिए ।
त्यसको उनको पार्टी एमाओवादी सहित बाम बृत्तमा चर्को आलोचना भएको थियो । विश्वको कुनैपनि मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने स्तालिनको मान्यतालाई खण्डन गर्दै ट्राटस्की समाजवाद स्थापना गर्न र त्यसलाई टिकाउन संसारभर एकैसाथ क्रान्ति सम्पन्न गर्नुपर्ने पक्षमा थिए ।
माओवादीको २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले स्तालिन सत्तरी प्रतिशत सही र तीस प्रतिशत गलत रहेको निष्कर्ष निकालेको थियो । सो मान्यतालाई माओवादीले संस्थागत रुपमा अझै परिवर्तन गरेको छैन ।