प्रमुख दलहरुबीच चार बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाण्डु टुडे २०७० पुष ९ गते १०:०४ मा प्रकाशित

Rajnitik samiti copyकाठमाण्डु, ९ पुस – संविधानसभाको दोस्रो निर्वाचनपछि देखिएका समस्या समाधान गर्न दलहरुबीच ४ बुँदे सहमति भएको छ । शान्तिकोषको सचिवालमा मंगलबार अपराह्न बसेको राजनीतिक समितिको बैठमा ८ दलका शीर्ष नेताहरुले सहमतिमा हस्ताक्षर गरेका हुन्।
निर्वाचनमा विषयमा उठेका प्रश्नबारे अध्ययन गरी सुझाव दिन संसदबाट समिति गठन गर्ने, संविधान निर्माणमा सहयोग पु¥याउन प्रमुख राजनीतिक दलका शीर्ष नेता रहनेगरी एक समिति गठन गर्ने, बेपत्ता छानविन एवम् सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने र एक वर्षभित्र नयाँ संविधान जारी विषयमा सहमति भएको हो ।

सहमति पत्रमा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी जनअधिकार फोरम नेपालका वरिष्ट नेता भरतविमल यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

सहमतिले मुलुकलाई नयाँ दिशा प्रदान : नेताहरु
प्रमुख दलका नेताहरूले सहमतिले मुलुकलाई नयाँ दिशा प्रदान गरेको प्रतिक्रिया दिएका छन् । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनपछि मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्य भएको दावी गरे ।

उनले एमाओवादीलगायतका दलहरुले उठाउँदै आएको मागलाई सम्बोधन गरिएको कारण अब सबै विषयलाई संविधानसभामार्फत निकास निकाल्ने सन्दर्भमा सहमति उपलब्धिमूलक भएको बताए ।

यस्तै एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले उठाउँदै आएको सबै माग सम्बोधन नभएपनि आधारभूत रुपमा केही मागमाथि सुनुवाइ भएको बताए । प्रमुख दलहरुबीच भएको सहमतिले आगामी दिनको मार्ग प्रष्ट पारेको उनको भनाई छ ।

एमाओवादीकै अर्का नेता पोष्टबहादुर बोगटीले निर्वाचनपछि मुलुकमा जारी राजनीतिक अन्योलता अन्त्य भएको प्रतिक्रिया दिए । संविधान निर्माणमा सहजताका लागि उच्चस्तरीय राजनीतिक समितिको आवश्यकता महसुस गरेर आफ्नो दलले सो समिति निर्माणमा जोड दिएको उनको भनाई छ ।

यस्तो छ सहमति
१. संविधानसभा निर्वाचनका सन्दर्भमा उठेका प्रश्नहरुको अध्ययन गरी सुझाव दिन संसदबाट समिति गठन गर्ने ।

२. शान्ति प्रक्रियाका बाँकी काम र संविधान निर्माणमा सहयोग पु¥याउन प्रमुख राजनीतिक दलका शीर्ष नेता रहनेगरी एक समिति गठन गर्ने ।

३. १२ बुँदे सहमति, बृहत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मस्यौदा ६ महिनाभित्रै तयार गरी १ वर्षभित्रमा संविधान घोषणा गर्ने ।

४. सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता खोजविन आयोग तत्काल गठन गर्न पहल गर्ने ।

sahamati

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us