माओवादी आन्दोलन कमजोर बनाउने भारत–अमेरिकी रणनीति

काठमाण्डु टुडे २०७० पुष ९ गते २:२८ मा प्रकाशित

Prachanda-&-Mohan-baidhyaएकीकृत माओवादीलाई संबिधानसभा बाहिर राखेर काँग्रेस र एमाले संविधानसभा भित्र प्रवेश गर्ने कसरतमा लागेका छन् । एकीकृत माओवादीलाई संविधानसभा भित्र र नेकपा–माओवादीलाई संविधानसभा बाहिर राखेर माओवादी आन्दोलनलाई कमजोर बनाउने अन्तराष्ट्रिय रणनीति छ ।

सो रणनीति अनुसार काँग्रेस एकीकृत माओवादीसँग सहमतिको नजिक देखिने र एमाले टाढा देखिने गरी छलफल भए पनि काँग्रेस र एमाले दुवैले आफूलाई सत्ता गठबन्धनबाट बाहिर राख्न चाहेका छैनन् । काँग्रेस एमालेका नेताहरुका अनुसार एकीकृत माओवादीलाई केहि समयका लागि संविधानसभा बाहिर राखेर समानुपातिकको सूची बुधवारभित्रै बुझाउने कसरत भइरहेको छ ।

तीन दलका नेताहरुबीचको मंगलबारको बैठकमा पाँच बुँदे प्रस्ताव प्रति सकारात्मक निष्कर्ष निस्कने संभावना न्यून रहेको अर्का एक नेताले बताए । काँग्रेस एमालेबीच भएको समझदारी अनुसार एकीकृत माओवादीलाई केहि समय बाहिर राखेर आफूहरु संविधानसभामा प्रवेश गर्न समानुपातिकको सूची बुधबार भित्रै बुझाउने निष्कर्षमा पुग्नेछन् ।

निर्बाचनकाे नतिजा सार्बजनिक हुँदा एमाओवादी तेस्रो पार्टी भएपछि  भारत र अमेरिकी रणनीतिकारहरु खुसी देखिनु, युराेपेली युनियनका रणनीतिकारहरु स्तब्ध हुनु र चिनियाँ कुटनीतिज्ञहरु अनपेक्षित परिणामबाट स्तब्ध हुनुले पनि अमेरिका र भारतकाे रणनीति कार्यान्वयन भएको पुष्टि हुन्छ ।

भारत र अमेरिकी रणनीति अनुसार माओवादी आन्दोलनलाई कमजोर बनाउँदा तिब्बतमा गडबडी मच्चाउन सजिलो हुनेछ । एकीकृत माओवादीलाई संविधानसभा निर्वाचनमा भाग लिन लाउनु र नेकपा–माओवादीलाई संविधानसभा निर्वाचन बहिस्कार गर्न लगाउनु, एकीकृत माओवादीका उम्मेदवारलाई पराजय गराउन माओवादीका कार्यकर्ताहरु लाग्नु, काँग्रेस एमाले मार्फत् भारत र अमेरिकी पैसा नेकपा–माओवादीका नेता कार्यकर्ताको पोल्टामा पुग्नु, बहिस्कार गर्ने पार्टी नीति विपरित काँग्रेस एमालेका उम्मेदवारका पक्षमा मतदान गर्न निर्देशन जारी गर्ने नेता र भोट माग्न हिँड्ने कार्यकर्ता कार्वाहीमा नपर्नु,  एमाओवादीका नेताहरुलाई नै निर्वाचनको नतिजा निर्माणपछि फरक फरक अभिव्यक्ति दिने अवस्थामा पुर्‍याउनु, धाँधली भन्दा आन्तरिक कारणले पराजित भएको सन्देश प्रवाह गराउन खोज्नु, मुख्य नेतृत्वको बीचमा एकअर्कालाई दोषारोपणको अवस्था सिर्जना गराउनु, कार्यकर्ताकोबीचमा निराशा पैदा हुने सूचना प्रवाह गराउनु पनि त्यही अन्तराष्ट्रिय रणनीति अनुसारका गतिविधि हुन् ।

भारत–अमेरिकी रणनीति अनुसार माओवादी आन्दोलनमा लागेका नेता तथा कार्यकर्तालाई जनयुद्धकालीन घटना उठाएर मानवअधिकारका नाममा मुद्दा लगाउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाएर भ्रष्टाचारको मुद्दा लगाउने, मिडियाहरुमा माओवादी आन्दोलनमा लागेका नेता तथा कार्यकर्ता विरोधी समाचार प्रवाह गर्न लगाउने कसरत हुँदैछ । नेपालका दैनिक पत्रिकाका सम्पादकलाई भारतले गराएको भ्रमण, उनीहरुलाई त्यहाँ उपलब्ध गराइएका सूचनाले भारत–अमेरिकी रणनीति लागू गर्ने योजना प्रतिबिम्बित रहेको एक सम्पादकले बताए ।

भारत र अमेरिकाको रणनीति सफल भएपछि चिनिया नेताहरु झस्किएका छन् । उपमन्त्री आइ फिङको नेपाल भ्रमण निर्वाचन अघि र निर्वाचनपछिको समग्र परिस्थिति मूल्याङकन गर्नु थियो । उनले आफना पार्टी महासचिव तथा राष्ट्रपति सी चिन फिङ समक्ष नेपालको अवस्था र भारत–अमेरिकी रणनीतिका वारेमा ब्रिफिङ गरेपछि चीनले पनि नयाँ रणनीति बनाउन सक्ने कुटनीतिक स्रोतहरुले बताएका छन् । उनीहरुका अनुसार चीनको उच्चस्तरिय टोली प्रत्येक महिना नेपाल भ्रमणमा आएर नेपालमा आफनो उपस्थिति देखाउन थाल्नेछ । बिश्व महाशक्ति राष्ट्र बन्ने अभियानमा लागेको चीनले आफना छिमेकी मुलुकहरुमा आफनो पकड राम्रो बनाउँदै लैजाने रणनीति बनाउने ती स्रोतहरुले बताएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us