केजरीवालले सरकार बनाउने

काठमाण्डु टुडे २०७० पुष ७ गते १३:०० मा प्रकाशित

kejariwalनयाँ दिल्ली, ७ पुस– भारतका भ्रष्टाचारविरोधी आन्दोलनकर्ता अरविन्द केजरीवालले आइतबार ‘फोहरी राजनीति’ लाई सफा गर्ने दृढता व्यक्त गर्दै उनको दलले कङ्ग्रेस पार्टीको सहयोगका दिल्लीमा सरकार गठन गर्ने सङ्केत दिएका छन् ।

पूर्व सरकारी कर्मचारीबाट राजनीतिज्ञ बनेका केजरीवाललाई एक प्रमुख राजनीतिक दलबाट सहयोग लिइ सरकार गठन गर्न दबाब परेको छ । उनको दल आम आदमी पार्टीले डिसेम्बर ४ मा भएको निर्वाचनमा दिल्लीमा अचम्मलाग्दो सफलता हासिल गरेको थियो ।

यस दलले दिल्ली विधानसभाको ७० स्थानमध्ये २८ स्थानमा विजय हासिल गरेको थियो र पहिले सत्तामा रहेको कङ्ग्रेस पार्टीले केबल आठ स्थान प्राप्त गरेको थियो । यस निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) ले ३१ स्थान प्राप्त गरेको थियो र कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न सकेका थिएनन् ।

यसो भए पनि केजरीवाललाई मुलुकको सत्ताधारी कङ्ग्रेस पार्टी वा प्रमुख प्रतिपक्षी बीजेपीको सहयोग स्वीकार गर्न निकै कठिन भएको छ । मूलधारको राजनीति तथा व्यापक भ्रष्टाचारबाट क्रुद्ध भएका मतदाता भने उनको पक्षमा देखिएका थिए ।

दिल्लीमा सयौं समर्थकहरूको भेलालाई सम्बोधन गर्दै केजरीवालले आफूहरूले सरकार गठन गरे भ्रष्टाचार नियन्त्रण कानुन पारित गर्ने तथा बीजेपी तथा कङ्ग्रेसका भ्रष्ट नेताहरूलाई काराबासमा पठाउने बताए ।

‘हामी राजनीतिक शक्तिको पछाडि छैनौँ । हामी प्रणालीमा परिवर्तन गर्न चाहन्छौँ र फोहरी राजनीतिलाई सफा गर्न चाहन्छौँ’, उनले थपे । उनले सोमबार दिल्लीमा सरकार गठन गर्ने बारे घोषणा गर्ने सङ्केत दिए ।

गठनको एक वर्ष मात्र भएको आम आदमी पार्टी (आप) नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको छ र दुई प्रमुख राजनीतिक दलका लागि मे महिनामा हुने निर्वाचनमा एक चुनौतीको रूपमा देखिएको छ ।

बीजेपीले बहुमतको अभावमा दिल्लीमा सरकार गठन गर्न अस्वीकार गरेपछि आपलाई गभर्नरले यो जिम्मेवारी लिन आग्रह गरेका हुन् । अनपेक्षित पाइलाको रूपमा आपले सार्वजनिक सभा आयोजना गरेर तथा टेलिफोन तथा एसएमएसमार्फत आफ्ना समर्थकहरूलाई आफूले यस्तो कार्य गर्न हुन्छ कि हुँदैन भनी सोधेको छ ।

आइतबार समर्थकको सल्लाहका लागि अन्तिम दिन हो र आमसञ्चारले केजरीवालले अन्त्यमा कङ्ग्रेस पार्टीसँग मिलेर सरकार गठन गर्ने अनुमान गरेका छन् ।

हिन्दुस्तान टाइम्स समाचारपत्र तथा अन्य आमसञ्चारले आपले नयाँ सरकार गठन गर्ने पक्षमा निकै अधिक प्रतिक्रिया प्राप्त गरेको जानकारी दिएका छन् ।

आपका नेता मनिष सिसोडियाले आफूहरूले निकै सकारात्मक तथा स्पष्ट प्रतिक्रिया प्राप्त गरेको र यही अवस्था रहेमा आफूहरूले निश्चय पनि सरकार गठन गर्ने बताए भनी उक्त समाचारपत्रले उल्लेख गरेको छ ।

कङ्ग्रेस पार्टी एक दशकसम्म सत्तामा रहेको थियो र भ्रष्टाचारका अनेकौँ काण्डपछि उसको लोकप्रियता निकै खस्केको देखिएको छ यसका लागि मुलुकको मन्द भएको अर्थतन्त्रलाई पनि दोष दिइएको छ ।

बीजेपीका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले आइतबार भारतको वित्तीय केन्द्र मुम्बईमा कङ्ग्रेस पार्टीका भ्रष्टाचारका काण्ड तथा कमजोर शासनका कारण मुलुक बिग्रिएको आरोप लगाए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us