के गर्दैछन् चर्चित नेताका बागी ?

काठमाण्डु टुडे २०७० पुष ९ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, पुस– संविधानसभा चुनाव अघि पार्टीबाट आधिकारीक टिकट नपाएको झोंकमा बागी उम्मेद्वारको निकै ठुलो चर्चा भयो ।

कतिपय ठाउँमा त आधिकारीक उम्मेदवारको भन्दा पनि बागीले धेरै चर्चा पाए । आधिकारिक रुपमा टिकट नपाएको भन्दै बागी उम्मेदवारी दिएका कांग्रेसका अतहर कमालले चुनाव जिते भने एकीकृत माओवादीका सत्यनारायण यादव निकटतम प्रतिद्वन्द्वी भए ।

बागी उम्मेदवारी दिएसँगै पार्टीबाट कारबाही भइसकेको उनीहरुमाथि । तर चुनावी परिणामसँगै चुनाव अघि बाघजस्तै गर्जने बागी अहिले मुसोजस्तै दुलो पसेका छन् । चुनावपछि के गर्दै छन् त बागीहरु ? केही चर्चित अनुहारहरु के भन्छन् त ?

सत्यनारायण यादव एकीकृत नेकपा माओवादी

Satyanarayan Yadavमैले धनुषा १ बाट ७ हजार ९ सय ४६ मत पाएँ । यो क्षेत्राम जित्नेले ८ हजार ८ सय २७ मत ल्याए । म एक्लै चुनाव लड्दा पनि पार्टीका आधिकारिक उम्मेदवारको भन्दा २ हजार ६ सय मत धेरै पाएँ ।

चुनाव पछि मैले धनुषा क्षेत्र नं १ मा पर्ने १८ वटै गाविस घुमें । मलाई मत दिने सबै मतदातालाई धन्यवाद पनि दिएँ ।

धेरैले मलाई चुनाव अघि जस्तो व्यवहार गर्नुभएको थयो चुनाव पछि पनि त्यस्तै गर्नुभयो ।

पार्टीबाट आधिकारिक रुपमा टिकट नदिएपछि मलाई यस क्षेत्रका कार्यकर्ता र धेरै मतदाताले चुनाव लड्नुस् भने ।

मैल उनीहरुको राय अनुसार चुनाव लडें । व्यक्तिगत रुपमा चुनाव लड्दा पनि मैले पार्टीका आधिकारिक उम्मेदवार (रामचन्द्र झा) को भन्दा धेरै मत पाएँ । मेरो क्षेत्रमा कांग्रेसले चुनाव जित्यो ।

व्यक्तिगत रुपमा चुनावमा जाँदा पनि मैले करिब ८ हजार मत पाएँ । यो मलाई यो क्षेत्रका जनताले गर्नुभएको माया हो । म हारे पनि जिते पनि उहाँहरुकै सेवामा रहन्छु भनेको थिएँ, त्यसै गर्नेछु ।

मलाई गाउँ–गाउँका बुद्धिजीविले मलाई सहयोग गरेका छन् । उनीहरुले पार्टीले तपाईंको योगदान विर्सियो भनेका छन् । उनीहरुले अरु पार्टीमा जानुहुन्छ कि पनि भने । तर मैले त्यसो गर्दिन भनें ।

मलाई के कुरामा दुःख छ भने, हाम्रा लिडर विदेशीले बनाएको जंजालमा फसेका छन् । पार्टीको नेतृत्व लोभमा फस्यो । म नेताको बुद्धि सुधार्न जनतामा जडिबुटी लिन आएको हुँ ।

मेरो बलिदान बिर्सिएर अरु लोभीलाई पार्टीलाई सम्झ्यो यसले मलाई दुःख लागेको छ । अहिलेको चुनावी नतिजा छालाको गोदाममा कुकुरको रखवारी भनेजस्तो भएको छ । यसले देशलाई निकाश दिँदैन भन्ने मेरो विश्वास छ ।

विकास कोइराला, चितवन क्षेत्र नं ४ नेपाली कांग्रेस

Bikash Koiralaमलाई नेपाली कांग्रेसले सुरुमा टिकट दिने भनेर निकै चर्चा भयो । तर अन्तिममा गएर पार्टीले मलाई धोका दियो ।

मप्रति चितवनका जनताको ठुला भरोसा थियो । तर पार्टीभित्रका अवसरवादी प्रवृत्तिले गर्दा हामीजस्ता दुःख पाएका कार्यकर्ताहरु पाखा पर्‍यौं ।

पार्टीमा लोभिपापीको हालीमुहाली चल्यो । मैले यो क्षेत्रबाट १ हजार ८३ मत पाएँ । यो क्षेत्रमा मेरे पार्टीका सभापति सुशील कोइरालाले २० हजार ७ सय ६० मत ल्याए ।

म सुरुदेखि नै समाजसेवामा लागेको मान्छे हुँ र अव पनि समाज सेवामा नै रहन्छु । अहिलेको अवस्थामा भन्नुपर्दा म पर्ख र हेरको अवस्थामा छु ।

पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा चुनाव जित्ने साथीहरुलाई पार्टीमा फर्काउँछ अथवा फर्काउँदैन र हार्नेलाई कस्तो व्यवहार हुन्छ । त्यो पनि हेर्नेछु ।

जनतालाई राजनीतिक दलले जे भनेका छन् त्यो पुग्ने देखिँदैन । अवका दिनमा यसको नतिजा पनि देखिँदै जाला । सबैभन्दा ठुलो चिन्ता भने पार्टीमा इमान्दारलाई पाखा लगाउने खेल भयो ।

नेपाली कांग्रेसमा बिपि कोइरालाको आदर्शबाट प्रभावित र पार्टीका लागि दुःख पाएकाहरुसँग म अहिले पनि सम्पर्कमा छु । पार्टीले समानुपातिकमा पठाउने उम्मेदवारको सम्बन्धमा कस्तो निर्णय गर्छ त्यो पनि म हेर्दैछु ।

पार्टी सभापति सुशील कोइरालाले दुई ठाउँबाट चुनाव जितेका छन् र यो क्षेत्र छोड्दैछन् भन्ने हल्ला छ । मलाई त्यो निर्वाचनमा पनि उठ्ने स्वतन्त्रता छ । तर के गर्ने भनेर अहिल्यै सोचेको छैन । म समाज सेवामै रहन्छु ।

जित्नेको बेग्लै सान

संविधानसभा निर्वाचनमा विभिन्न ठाउँमा उम्मेदवारी दिएका उम्मेदवार मध्ये एकजना मात्रै विजयी भए ।कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रुपमा कपिलवस्तु २ बाट उम्मेदवारी दिएका अतहर कमाल विजयी भए ।अघिल्लो चुनावबाट कांग्रेसबाट चुनाव लड्दा पराजित भएका कमाल यो पटक भने स्वतन्त्र रुपमा चुनाव लड्दा विजयी भए ।

अतहर कमाल, कपिलवस्तु २
attra kamalम दोस्रो पटक चुनाव लडेको हुँ । म अहिले ४ हजार ६ सय ७४ मत ल्याएर विजयी हुन सफल भएँ । पार्टीले आधिकारीक रुपमा टिकट दिएको राजेश आचार्यले २ हजार १ सय ३४ मत ल्याए ।

म अहिले पनि यो क्षेत्र घुमिरहेको छु । मलाई भोट दिने तथा नदिने सबै मतदातालाई धन्यवाद दिइरहेको छु ।

म प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने मान्छे भएकाले कुनै गुट–उपगुटमा लागिन र त्यसैको शिकार भएर चुनावमा टिकट दिइएन । तर मैले स्वतन्त्र उम्मेदवारी दिएँ र चुनाव जितेँ पनि ।

मैले जनताको काममा प्रत्यक्ष रुपमा साथ दिएको र विकास निर्माणको काममा सहभागी भएको परिणाम नै हो यो । मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपनि मैले भोट कांग्रेसलाई नै दिँए ।

म पहिले कांग्रेसमै काम गरेको मान्छे भएकाले मेरो निकटता कांग्रेससँग नै छ । तर म तत्कालै कांग्रेसमा जाँदिन । कांग्रेसबाट सुध्रिने प्रतिबद्धता आउनु पर्छ अनि मात्रै म कांग्रेसमा जान्छु ।

संसदीय खेलमा बहुमत पुर्‍याउन मलाई पनि विभिन्न लोभ देखाइएका छन् । तर म कुनै लोभमा फस्दिन जनताको सेवा मात्रै गर्छु । गुट–उपगुटले कांग्रेसलाई थला पार्‍यो । अव पनि त्यै खेल हुने हो भने म कांग्रेसमा जान्न किनकी कांग्रेसले पार्टीका लागि दुःख गर्नेको दुःख बिर्संदोरहेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us