
दमासकस, ७ पुस– सिरियाको दक्षिण भागमा पर्ने दाराआ प्रान्तमा सिरियाली सशस्त्र विद्रोहीले गरेको मोर्टार आक्रमणबाट कम्तीमा बाह्र जनाको मृत्यु भएको छ ।
आक्रमणमा परी अरु थुप्रै मानिस घाइते भएको सरकार समर्थित अल इकबारिएह टेलिभिजनले जनाएको छ ।
दाराआ प्रान्तमाअवस्थित सो पुरानो चर्चमा स्वयम्सेवीहरूले स्थानीय व्यक्तिहरूलाई दान सहयोग बाँडिरहेको अवस्थामा सो विस्फोटन भएको जनाइएको छ ।
सो दुर्घटना सिरियाली क्रिश्चियनहरूकोबीच भएको जनाइएको छ ।
सिरियामा लामो समयदेखि जारी सिरियाली द्वन्द्वका कारण चारलाख ५० हजार सिरियाली क्रिश्चियन विस्थापित भएका बताइएको छ । त्यसैगरी सो द्वन्द्वका कारण हजारौँ सिरियाली क्रिश्चियन जनसमुदाय मारिएका पनि बताइएको छ ।
शनिबार विहानै सबेरै सिरियाको उत्तरी भागमा पर्ने आलेप्पो प्रान्तको हमादान्येह जिल्लामा गरिएको मोर्टार आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ । रासस/सिन्ह्वा