थाइल्याण्डको विपक्षी दलले आमनिर्वाचन बहिस्कार गर्ने

काठमाण्डु टुडे २०७० पुष ६ गते १२:५८ मा प्रकाशित

बैंकक, ६ पुस– थाइल्याण्डको प्रमुख विपक्षी दलले आगामी फेबु्रअरी महिनामा हुन गइरहेको आम निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री सिनावात्रालाई राजिनामा गर्न बाध्यपार्न आन्दोलन जारी नै राखेको सो दलले सरकारले एकतर्फी रुपमा घोषणा गरेको भन्दै सो निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको बताइएको छ ।

राजधानी बैंककमा शनिबार बसेको सो दलको बैठकले उक्त निर्णय गरेको पनि समाचारमा जनाइएको छ । मुख्य विपक्षी विपक्षी दल डेमोक्र्याट पार्टीले आज सो निर्णय गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोही दलको नेतृत्वमा देशमा यतिखेर आन्दोलन जारी रहेको छ । उक्त अभियानमा अरु दलहरु पनि रहेका छन् । तरपनि अहिले ती दलको भने यस विषयमा कुनै निर्णय आएको छैन ।

डमोक्र्याटिक पार्टीका नेता अभिजित भिजाजिभाले आगामी निर्वाचन बहिस्कार गर्ने र सो निर्वाचनमा आफूहरुको पूरा रुपमा असहमति रहेको निर्णय आजको बैठकले गरेको बताए ।

उनले प्रधानमन्त्री यिङलक सिनावात्राको राजिनामाको अडानमा आफुहरु रहेको भन्दै यसका लागि उक्त दलले आन्दोलन जारी नै राख्ने पनि बताए ।

थाइल्याण्डको संसदमा विपक्षी दलका सांसदहरुले केही दिनअघि सांसद पदबाट सामुहिक राजिनामा दिएका थिए । संसद प्रतिपक्षहिन भएपछि प्रधानमन्त्रीले पनि संसदको विघटन गरी नयाँ निर्वाचनको प्रस्ताव गर्नुभएको हो ।

थाइल्याण्डको संसदले आममाफीसम्बन्धी कानुन ल्याएपछि त्यसको विरोधमा विपक्षीहरुले आन्दोलन सुरु गरेका हुन् ।

उक्त विधेयक असफल भएपछि पनि आन्दोलन जारी नै रहेकोले प्रधानमन्त्री सिनावात्राले सबै विपक्षीहरुलाई आन्दोलन रोक्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्री सिनावात्राले दिनहूँको आन्दोलन एवम् हड्तालले नागरिकको दैनिकीमा पनि समस्या पारेको र यसले थाइल्याण्डको प्रमुख आर्थिक आयको रूपमा रहेको पर्यटन उद्योगमा समेत नकारात्मक असर पारेको बताएकी छन् ।

प्रधानमन्त्री सिनावात्राले भ्रष्टाचारको मुद्दाका कारण निर्वासनमा रहेका आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई उक्त मुद्दामा आममाफी दिने र स्वदेश फर्किने सहमतिका लागि सो कानुन ल्याउन खोजेको विपक्षीहरूले जनाएका छन् ।

हालैमात्र थाई राजा भूमिबोलले आफ्नो जन्मदिनको अवसरमा दिएको सन्देशमा सबै राजनीतिक दलहरुलाई मिलेर राष्ट्रिय एकताका आधारमा कामगर्न आग्रह गरेका थिए ।

रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us