
वासिङटन, ६ पुस– अमेरिकी विदेश मन्त्री जोन केरीले रुसले पूर्व तेल ब्यापारी मिखाइल खोदोरकोभ्स्कीलाई रिहा गरेकोमा खुसी व्यक्त गरेका छन् ।
यद्यपि केरीले सिमित व्यक्तिमाथि मात्रै कारबाही भएकोमा भने चिन्ता व्यक्त गरेका छन् ।
रुसमा १० वर्षसम्म काराबासमा रही रिहापछि पूर्व तेल व्यापारी खोदोरकोभ्स्की शुक्रबार जर्मनीमा स्वतन्त्र पुरुषको रूपमा आइपुगेका छन् । उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अकस्मात माफी दिएपछि उनी रिहा भएका हुन् ।
केरीले खोदोरकोभ्स्कीका व्यापारिक साझेदार प्लाटन लेवेदेव अझै कारागारमा रहेकोमा चिन्ता व्यक्त गरेका छन् । खोदोरकोभ्स्कीको रिहाइका लागि जर्मन सरकार तथा बर्लिनका पूर्व विदेशमन्त्री हान्स दित्रिच गेन्स्चरको सहयोग रहेको अनुमान गरिएको छ ।
रिहाइपछि खोदोरकोभ्स्की विमानबाट बर्लिनको स्कोएलफेल्ड विमानस्थलमा पुगे । अमेरिकी विदेशमन्त्री केरीले अमेरिकाले कुनै पनि राजनीतिक विचारधारा भए पनि सबै रसियाली जनताको अभिव्यक्ति, सङ्गठित हुने, भेला हुने तथा विचारधाराको स्वतन्त्रतालाई सम्मान गर्ने बताएका छन् ।
उनले यी कुरा रसियाली संविधानमा कायम भएको र यस विषयमा रसियाले अन्तर्राष्ट्रिय सम्झौतामा बचनबद्धता प्रकट गरेको उल्लेख गरेका छन् ।
अमेरिकी विदेशमन्त्री केरीले पारदर्शी, स्वतन्त्र तथा भरपर्दो न्यायिक प्रणाली स्थापना गर्न तथा मानव अधिकार, कानुनी राज्य तथा भेदभावविहीनताप्रति रसियाको बचनबद्धता पालना गर्न वासिङ्टनले मस्कोलाई बलियो रूपमा अभिप्रेरित गर्ने पनि उल्लेख गरे । रासस/एएफपी