बाबुरामको ६ बुँदेमा सहयात्रीको ७ बुँदे जवाफ

काठमाण्डु टुडे २०७० पुष ७ गते ९:१५ मा प्रकाशित

Baburam Vs sahayatriकाठमाण्डु, पुस– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचनपछि सामाजिक सञ्जालहरुमार्फत आफ्ना विचार अभिव्यक्त गर्दै आएका छन् ।
पछिल्लोपटक शुक्रबार उनले फेसबुकमार्फत सार्वजनिक गरेको विचारबारे बहस जारी छ । शुक्रबारै उनको विचारबारे विद्युतीय र अनलाइनमाध्यमले महत्वका साथ सम्प्रेषण गरेका थिए ।
शनिबारका सबैजसो दैनिक पत्रिकाले समाचार बनाएर छापेका छन् । उनको पार्टी एकीकृत माओवादीमा पनि त्यस विचारबारे बहस सुरु भएको छ । भट्टराईले एक्काइसौं शताब्दीमा संविधानसभाबाट नयाँ संबिधान बनाउने क्रममा लोकतन्त्रको नयाँ मोडेल विकास गर्न भन्दै पार्टीका विभिन्न स्तरका कमिटिहरु माथिबाट मनोनित गर्नुको सट्टा तलैदेखि निर्वाचित गर्ने र पार्टीको नेतृत्वमा एउटै व्यक्ति दुइ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिनुपर्ने लगायतका विचार सार्वजनिक गरेका थिए । भट्टराईको ६ बुँदे धारणाको जवाफ युवा नेता सरल सहयात्री पौडेलले फेसबुकमार्फत सात बुँदामा दिएका छन् ।

पौडेलले सुरुमै भट्टराईको विचार सही भए पनि त्यसलाई बखतमा नआएको वुद्धिको संज्ञा दिएका छन् । पार्टीका विभिन्न स्तरका कमिटिहरु माथिबाट मनोनित गर्नुको सट्टा तलैदेखि निर्वाचित गर्ने र पार्टीको नेतृत्वमा एउटै व्यक्ति दुइ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिनुपर्ने भन्ने भट्टराईको जवाफ पौडेलले यसरी दिएका छन्, ‘गएको महाधिवेशनमा पार्टी कमिटिहरु निर्वाचित, चुस्त र कामकाजी हुनपर्छ भनेर घोक्रो सुक्ने गरी चिच्याउने युवाहरुमध्ये एउटा म पनि थिएँ । त्योबेला तपाइंहरु सबैजना लागेर हामीलाई पेल्नुभयो ।

आफ्नो संगठनमा कम्तिमा यति कुराको शुरुवात गरेको भए अरुलाई भन्न सजिलो हुने थियो ।’ पौडेलले पार्टी हारको कारणमध्ये महत्वपूर्ण कारण शीर्ष नेताहरुको कोठे निर्णय पनि एक भएको औंल्याएका छन् । ‘कोठामा गरिएको निर्णयलाई अनुमोदन गराउनका लागी हामी सबलाई जम्मा गरेर जनवादको भाषण ठोक्ने होइन र ? यसको निर्मम स्मरण गर्नुपर्छ तपाइंहरुले ?’ पौडेलले भनेका छन् ।

उनले पराजयपछि  पार्टी नयाँ बनाउन केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन बोलाउन नसकेको भन्दै भट्टराईको आलोचना गरेका छन् । उनले त्यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि आलोचना गरेका छन् ।

भट्टराईको प्रतिवादमा पौडेलले फेसबुकमार्फत सार्वजनिक गरेको जवाफ यस्तो छ ।
बाबुराम कमरेड, तपाइले आफ्नो फेसवुक स्टाटस मार्फत उठाएको कुरा सोहै आना सही हो । तर बखतमा नआएको वुद्धि जति राम्रो भएपनि के काम ?
१. गएको महाधिवेशनमा पार्टी कमिटिहरु निर्वाचित, चुस्त र कामकाजी हुनपर्छ भनेर घोक्रो सुक्ने गरी चिच्याउने युवाहरुमध्ये एउटा म पनि थिएँ । त्योबेला तपाइंहरु सबैजना लागेर हामीलाई पेल्नुभयो । आफ्नो संगठनमा कम्तिमा यति कुराको शुरुवात गरेको भए अरुलाई भन्न सजिलो हुने थियो ।

२.राजनीतिमा उमेर र कार्यकालको अवधि तोक्नका निम्ति सिंगै हलले गरेको पहललाई सजिलै लत्याइदिनुभयो ।

३.वैद्य कमरेडले नै उठाएको सही पूर्ण समानुपातिक व्यवस्थामा जानुपर्छ भन्ने कुरामा चुनाव अगाडि हामी चुँसम्म पनि बोलेनौं ।
४.बाँकी कुरा नेपाली जनताले चाहेको नै तपाइंले भनेजस्तै हो । तर आफ्नो हातवाट डाडु–पन्यु खुस्किसकेको संविधानसभाबाट मलाई त त्यत्रोविधि आशा जागेको छैन । तपाइंहरुको क्रियाकलाप देख्दा मलाई त लाग्छ काँग्रेस–एमालेप्रति बढी नै विश्वास लागेको छ, अझै तपाइंहरुलाई
५.पार्टी हार्नुको कारणमध्ये महत्वपूर्ण कारण तपाइंहरुको कोठे निर्णय पनि हो । तपाइंहरुले कोठामा गरिएको निर्णयलाई अनुमोदन गराउनको लागी हामी सबलाई जम्मा गरेर जनवादको भाषण ठोक्ने होइन र ? यसको निर्मम स्मरण गर्नुपर्छ तपाइंहरुले ?
६.सिंगै क्रान्ति संकटमा पर्ने गरी हामी चुनावमा पराजित भएका छौं । यसको सही निस्कर्ष निकाल्नको निम्ति आजसम्म पनि तपाइंहरु आफ्ना कार्यकर्ताकोमा जानको निम्ति तयार हुनुभएको छैन । आफैंआफैं निर्णयमाथि निर्णय गर्दै विजित सेनापतिजस्तो अगाडि बढिरहनु भएको छ ।
७. हामी सबैको कुरालाई मान्नुहुन्छ भने तपाइहरुले सबभन्दा पहिले पार्टीलाई नयाँ बनाउनको लागी केन्द्रीय समिति नै विघटन गरेर विशेष महाधिवेशन आयोजना गर्नुपथ्र्यो । अझै पनि गर्नुपर्ने यही हो । तर तपाइंहरु किन यसमा चासो नदिएर दुनियाँलाई सुझाव दिंदै हिड्नुहुन्छ ? विशेष महाधिवेशनको म्यान्डेटले तपाईंहरुलाई नै नेतृत्व गर्ने आवश्यकताको महसुस गर्यो भने बल्ल तपाइहरुलाई अघिल्ला निर्णय गर्ने नैतिक अधिकार हुन्छ । तर त्योप्रति न त अध्यक्षको ख्याल देखियो न तपाइको नै ? अरुको त के कुरा गर्नु ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us