
बर्दिवास, पुस – महोत्तरी जिल्लाको गौरीवास गाविसमा अहिले घरघरमा शौचालय निर्माणको लहर नै चलेको छ । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाको पहलमा गौरीवास खानेपानी तथा सरसफाइ आयोजनाले डिसेम्बरको अन्त्यसम्म गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी अभियान नै चलाएपछि सो गाविसमा शौचालय निर्माणको लहर चलेको हो ।
गाविस क्षेत्रका ९ वटा वडाका १२ बस्ती (टोल) मध्ये तीनवटा वडाका छ वटा बस्तीका सबै घरमा शौचालय निर्माण कार्य सम्पन्न भएर ती बस्ती खुला दिसामुक्त क्षेत्र घोषित भइसकेका छन् । अन्य छ वटा वडाका त्यत्तिकै सङ्ख्याका बस्तीमा पनि शौचालय निर्माण गर्ने कार्य ९० प्रतिशत पूरा भएको रेडक्रस महोत्तरी शाखाले जनाएको छ ।
अहिलेसम्म २, ७ र ९ नम्बर वडामा शौचालय निर्माणको कार्य पूरा भएको र अन्य छ वटा वडा बस्तीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले जानकारी दिए । जम्मा एक हजार ६ सय १७ घरधुरी रहेको सो गाविसमा अब छ वटा वडा बस्तीका १ सय ३० घरमा मात्र शौचालय बन्न बाँकी रहेको मिश्रको भनाइ छ ।
धनुषा र सिन्धुली जिल्लासँग सीमा जोडिएको जिल्लाको सुदूर उत्तरवर्ती गौरीवास गाविसमा चलेको यो लहरको जिल्लाका बर्दिवास, माईस्थान र किसाननगर तथा छिमेकी धनुषा जिल्लाको तुलसी र सिन्धुली जिल्लाका नगरगाउँ बस्तीमा समेत सकारात्मक चासो बढेको छ । छिमेकको गाउँमा घरघरै शौचालय निर्माण हुन थालेको देखेपछि आफ्नो बस्तीका गरिबगुरुवाले पनि शौचालय निर्माण गर्न थालेका माईस्थान गाविसको चेरु गाउँका बासिन्दा राजन पौडेलले बताए । त्यसैगरी छिमेकी बस्तीको देखासिकीले आफ्नो बस्तीमा शौचालय निर्माणबारे सकारात्मक चासो बढेको धनुषा जिल्लामा पर्ने तुलसी गाविसको बाहुनमारा बस्तीका प्रतीक पौडेल जानकारी दिए ।
गौरीवास गाविसमा सरसफाइबारे बढेको सकारात्मक चासोले एक वर्षभित्रै खुला दिसामुक्त क्षेत्र घोषणा गरिने सङ्कल्प पूरा हुने अभियानकर्मीको विश्वास छ । एक वर्षभित्र गौरीवास गाबिसलाई खुला दिसामुक्त बनाइने गत जनवरी महिनामा लिइएको सङ्कल्प सफलताको अन्तिम सिँढीमा पुगेको रेडक्रस महोत्तरी शाखाका सभापति मिश्रले बताए ।
शौचालय निर्माणसम्बन्धी जागरण बढाउन ती बस्तीका विद्यालयका शिक्षक, विद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि र गाविस कार्यालयले खेलेको सकारात्मक भूमिकाले नै एक वर्षभित्रै उपलब्धि हात परेको गौरीवास खानेपानी तथा सरसफाइ आयोजनाले जनाएको छ । गाविस कार्यालयले शौचालय निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर अभियानप्रति सहयोग समर्थन दिँदै शौचालय नबनेका घरपरिवारलाई कार्यालयबाट प्रदान गरिने सेवा रोक्का राख्ने निर्णय गरेपछि गाउँ बस्तीमा शौचालय निर्माणको लहर नै चलेको गाउँका बूढापाका बताउँछन् ।
गौरीवास गाविसमा पाइएको सफलताले सन् २०१६ सम्म जिल्लालाई खुला दिसामुक्त बनाउने सङ्कल्प पूरा हुने विश्वास जागेको जिल्लाका रेडक्रसकर्मीहरुको भनाइ छ । गौरीवासमा पाइएको सफलतासँगै अब चाँडै बर्दिवासलाई खुला दिसामुक्त घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको सभापति मिश्रले जानकारी दिए ।
यसैबीच जिल्लाका सामाजिक संघसंस्थाका प्रतिनिधिले गौरीवास गाविसलाई नमुना गाविस घोषणा गरिनुपर्ने माग गरेका छन् । सडक बाटोघाटो जताततै खुला दिसापिसाब गर्ने सबैतिरको आम प्रचलनले जिल्लाको बिग्रेको परिचयलाई बदल्न गौरीवासले खेलेको भूमिका प्रशंसनीय भएकाले यसलाई नमुना गाविस घोषणा गर्न जिविसले पहलकदमी लिनुपर्ने सामुदायिक विकास परियोजना महोत्तरीकी कार्यक्रम संयोजक साधना बर्माको सुझाव छ ।