दक्षिण सुडानमा गृहयुद्धको डर

काठमाण्डु टुडे २०७० पुष ४ गते १३:५२ मा प्रकाशित

जुबा, ४ पुस– दक्षिण सुडानमा गएको आइतबारदेखि जारी हिंसाको कारण संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलगायत अन्य विदेशी नागरिकलाई त्यहाँबाट विस्थापित गर्ने कार्य सुरु गरेको छ ।

सैनिकका विभिन्न विद्रोही समूहबीच भएका भिडन्तहरूमा परी त्यहाँ ५०० भन्दा बढीको ज्यान गए पछि अमेरिकाले सो कार्य सुरु गरेको हो ।

त्यसैगरी बेलायतले पनि त्यहाँ रहेका आफ्ना राजदूतावासका कर्मचारीलाई फिर्ता बोलाएको बताइएको छ । वासिङ्टनका अनुसार सन् २०११ मा मात्र सुडानबाट स्वतन्त्र भएको यो देश गृहयुद्धतिर फर्किने डर रहेको छ ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयका एक अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दक्षिण सुडानमा सुरक्षाको अवस्था अत्यन्त नाजुक भएको विमानस्थलमा समेत गोली प्रहार भएको जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका महिला प्रवक्ता मारिए हार्फले यहाँ जारी यस हिंसाबाट अमेरिकी समेत गहिरो संकटमा परेको बताएकी छन् । यहाँ बाँकी अमेरिकी नागरिकहरूले देश छोड्नका लागि विदेश विभागसँग थप यातायातको व्यवस्था गर्नका लागि आग्रह गरेको बताइएको छ ।

संयुक्त राष्ट्र संघका प्रवक्ता मार्टिन नेसर्किका अनुसार दक्षिणी सुडानको राजधानी जुबामा सैनिकका विभिन्न विद्रोही समूहबीच भएका भिडन्तमा बुधबार पनि कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ ।

यसैअघि नै गएको आइतबारदेखि सैनिकका विभिन्न विद्रोही समूहबीच भएका भिडन्तहरूमा परी कम्तीमा पनि ५०० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको थियो ।

त्यहाँ विद्रोही समूहका नाममा सैनिकका विभिन्न समूहकै बीचमा आपसमा गोली हानाहान भएको छ । उक्त विद्रोह बुधबार पनि जारी रहेको बताइएको छ । उक्त घटनामा परी कम्तीमा पनि ८०० जना सैनिक र सर्वसाधारण घाइते भएका बुधबार नै बताइएको थियो ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख हार्ब लादसकाअनुसार वर्तमान राष्ट्रपति र पूर्व राष्ट्रपति समर्थक सेनाका बीचमा सो भिडन्त भएको हो ।

वर्तमान राष्ट्रपतिका सेनाले पूर्व राष्ट्रपतिका सेनालाई सैनिक कु गर्न खोजेको आरोप लगाएका छन् । आइतबार राति अकस्मात सो भिडन्त सुरु भएको समाचारमा जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिण सुडानका सैनिक नेतालाई संयमता अपनाउन मङ्गलबार नै आग्रह गरेका थिए ।

सुडानमा भएको भनिएका द्विपक्षीय भिडन्तहरूले परिस्थितिलाई गृहयुद्ध हुन सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us