मुगुका १० प्रतिशत शिक्षक कामचोर

काठमाण्डु टुडे २०७० पुष ४ गते ११:३३ मा प्रकाशित

muguमुगु, पुस – मुगुमा सरकारी कोटामा कार्यरत १० प्रतिशत शिक्षकहरु वर्षको ३० दिनमात्र विद्यालय जाने गरेको पाइएको छ । सरकारी विद्यालयमा दरबन्दी रहेका ५ सय ५० जना शिक्षकमध्ये वर्षभरिमा ३० दिनमात्र विद्यालय जाने कामचोर शिक्षकको सङ्ख्या १० प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
मुगुमा माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक गरी १३६ वटा विद्यालयमा स्थायी, अस्थायी र राहत दरबन्दीमा समेत गरेर ५ सय ५० जना शिक्षक कार्यरत रहेकोमा त्यसमध्ये राजनीतिक दलका नजिक र पेसागत संगठनमा लागेका चार दर्जनभन्दा बढी शिक्षक वर्षमा ३० दिनमात्र विद्यालय जाने गरेको पाइएको कार्यालयले जनाएको छ ।
त्यस्ता शिक्षकहरू वर्षमा पढाइ हुनुपर्ने १ सय ९२ दिनमध्ये ३० दिनमात्र विद्यालय जाने गरेको जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर खत्रीले बताए । शिक्षकका पेसागत संगठनमा आबद्ध रहेका शिक्षकहरू विद्यालय जानुभन्दा पार्टीका कार्यक्रम, जिल्लामा रहेका गैरसरकारी संघसंस्थाका कार्यक्रम तथा अन्य व्यवसायमा व्यस्त हुने गरेको भन्दै बेलाबेलामा स्थानीयवासी र अभिभावक तथा नागरिक समाजले विरोध गर्दै आएका छन् ।
अब यसरी विद्यालय नगएर अन्य गतिविधिमा संलग्न हुने शिक्षकको तथ्याङ्क सङ्कलन गरी कारबाही प्रक्रिया अगाडि बढाइने निमित्त जिल्ला शिक्षा अधिकारी खत्रीको भनाई छ ।
नेपाल शिक्षक संघ मुगुका अध्यक्ष जंगबहादुर शाहीले शिक्षकका पेसागत हकहितका काममा बाहेक अन्य कुनै गतिविधिमा शिक्षकहरू नलागी विद्यालयमा खटिने गरेको दाबी गर्दै गल्ती गर्ने शिक्षकलाई कारबाही गर्ने काममा आफूहरुको कुनै दबाब नरहेको बताएका छन् । उनले भने, ‘राम्रो गर्ने शिक्षकलाई पुरस्कार र गल्ती गर्नेलाई सजाय हुनुपर्छ भन्ने मान्यतामा हामी छौँ ।’ गल्ती गर्ने शिक्षकलाई कारबाही गर्न नसक्नु जिल्ला शिक्षा कार्यालयको कमजोरी भएको उनको भनाई छ ।
कुन शिक्षक विद्यालयमा गयो वा अन्य संघसंस्थाको कार्यक्रममा गयो भन्ने निगरानी शिक्षा कार्यालयले गर्दैन भने शिक्षकलाई दोष दिन नमिल्ने नेपाल राष्ट्रिय शिक्षक संगठन मुगुकी अध्यक्ष विष्णुमाया शाहीले बताइन ।
विद्यालय नजाने शिक्षकलाई शिक्षा कार्यालयले कारबाही नगर्दा इमान्दार तथा विद्यालयमा नियमित पढाउने शिक्षकसमेत निरास हुन थालेका छन् भने अन्य शिक्षक पनि विद्यालय किन जाने भन्ने प्रश्न उठाउन थालेका छन् ।
शिक्षा नियमावलीअनुसार एक वर्षमा २२० दिन विद्यालय खोल्नुपर्ने र १९२ दिन पठनपाठन हुनुपर्ने भए पनि सदरमुकाम बाहिरका विद्यालयमा मुस्किलले एक सय दिनमात्र पढाइ हुने गरेको छ भने शिक्षकहरूले पनि पालो पहरा गर्ने गरिरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us