तेस्रो कार्यकालका लागि मर्केल चान्सलरमा निर्वाचित

काठमाण्डु टुडे २०७० पुष २ गते १९:३२ मा प्रकाशित

बर्लिन, ३ पुस –जर्मर्नीको संसदले एङ्गेला मर्केललाई मङ्गलबार तेस्रो कार्यकालका लागि चान्सलर पदमा निर्वाचन गरेको छ । यसले तीन महिना अगाडि भएको निर्वाचनले उनलाई आफ्ना प्रतिद्वन्द्वीबीच बृहत् गठबन्धन खोज्न बाध्य बनाएपछिको अनिश्चितता अन्त्य गराएको छ । German
उनन्साठी वर्षीया मर्केलले आउँदो चार वर्षका लागि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई शासन गर्नेस्पष्ट भएको छ । जर्मनीको संसदको तल्लो सभा बुन्डेस्टागमा भएको मतदानमा उनको पक्षमा ४६२ मत परेको थियो भने विपक्षमा १५० मत परेको थियो । नौँ सांसद मतदानमा अनुपस्थित भए ।
कालो सुटमा देखिएकी मर्केलले आफूले निर्वाचनको नतिजा स्वीकार गरेको र आफूलाई दिइएको विश्वासका लागि धन्यवाद दिएको बताइन ।
निर्वाचनमा उनले विजय हासिल गरेको तर पूर्ण बहुमत प्राप्त गर्न नसकेको ८६ दिनपछि बुन्डेस्टागमा भएको गोप्य मतदानमा उक्त नतिजा आएको हो ।
६ सय ३१ स्थानको संसदमा मर्केलको परम्परावादी तथा नयाँ मध्यमार्गी बामपन्थी साझेदार सांसदहरूको सङ्ख्या ५०४ रहेको छ । यो वृहत बहुमत प्राप्त गर्न उहाँले कडा प्रयास गर्नुपरेको थियो । उनी जर्मनीमा युद्धपछि तेस्रो पदावधि प्राप्त गर्ने तेस्रो चान्सलर हुनुहुनेछ ।
मर्केलले बुधबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । र पेरिसको भ्रमण गरी राष्ट्रपति फ्राँस्वा अलोँसँग भेट गर्ने पनि उनको कार्यक्रम छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us