‘छिट्टै भारी बिसाउन पाइयोस्’

काठमाण्डु टुडे २०७० पुष २ गते ९:२४ मा प्रकाशित

hari prasad neupaneगुल्मी, २ पुस– कानुन तथा न्याय मन्त्री हरिप्रसाद न्यौपानेले आफूले छिट्टै भारी बिसाउन चाहेको र त्यसपछि फेरि गाउँमै आएर विकासका काम गर्ने इच्छा रहेको बताएका छन् ।

संविधानसभा चुनाव सम्पन्न गर्ने आफूहरुलाई दिएको जिम्मेवारी पूरा गरेकाले छिट्टै निर्वाचित सरकारलाई जिम्मेवारी सुम्पन चाहेको भन्दै उनले बताए ‘अब छिट्टै मन्त्रिपरिषद् गठन होस्, छिट्टै नै यो भारी बिसाउन पाउँ, त्यसमा हामी आतुर छौं ।’

दलहरुले संविधानसभाको निर्वाचन गराउने जिम्मेवारी दिएकामा सो कार्य आफूहरुले पूरा गरेकाले अब छिट्टै नयाँ सरकारलाई जिम्मेवारी सुम्पन चाहेको बताएका हुन् । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणीदेखि पाहादीसम्मको सुख्खा मौसमी सडक उद्घाटन गर्दै मन्त्री न्यौपानेले आफूहरु सरकारमा बसिरहन नचाहेको बताए ।

सो सडक मेसिनरी सामानको प्रयोगबिना जनश्रमबाट मात्रै खनिएको छ । विश्व बैंकको सहयोगमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजनाअन्तर्गत तीन करोड रुपैयाँको लागतमा ९.४ किलोमिटर सडक निर्माण भएको हो ।

सडक उद्घाटनपछि मन्त्री न्यौपानेसहित मुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलगायतले सडकको अवलोकनसमेत गरेका थिए ।

सडक निर्माण भएपछि गुल्मीको अति विकट क्षेत्र मानिने ठूलोलुम्पेक, हर्मिचौर, अर्वेनीलगायतका गाविसका जनतालाई आवतजावतमा सहज हुनेछ । कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकको बाँकी भाग नेपाली सेनाले निर्माण गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us