संविधानसभा बैठकको तयारी के छ ?

काठमाण्डु टुडे २०७० पुष २ गते ६:३५ मा प्रकाशित

biccकाठमाण्डु, २ पुस–व्यवस्थापिका–संसद् सचिवालयले संविधानसभाको बैठक तत्कालै बोलाए पनि त्यसलाई व्यवस्थित रुपले सञ्चालन गर्न सक्ने गरी पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ ।

संविधानसभाको निर्वाचन सम्पन्न भइसकेपछि बैठक सञ्चालन गर्नुपर्ने पाटो र पक्षलाई उच्च प्राथमिकता दिएर तयारी गरिएको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

विगतमा भएका कामको समीक्षा, संविधानसभा र व्यवस्थापिका–संसद् नियमावलीको अध्ययन, विश्लेषण र कमीकमजोरीलाई समीक्षा गरिनुका साथै भौतिक पूर्वाधारको अवस्था, आवश्यकता, जनशक्तिको सक्षमता र सहयोगात्मक भूमिका आदिलाई लेखाजोखा गरेर सचिवालयले यस पटकको बैठकको तयारी गरेको छ । विगतमा संसदीय दललाई उपलब्ध गराइँदै आएको भौतिक पूर्वाधार लगायतका सुविधाको अध्ययन गरेर आजको आवश्यकताअनुसार परिमार्जन गर्ने कार्यसमेत सचिवालयले गरिरहेको छ ।

मूल बैठक सञ्चालन कक्षमा पुराना भएर बिग्रिएका ८० वटा माइक केही दिनभित्रै फेर्ने बाहेकका अधिकांश तयारीका काम पूरा भएको प्रवक्ता शर्माले जानकारी दिए ।

सचिवालयले आफ्नो मातहत रहेभएका भौतिक संरचनालाई कार्यालय सञ्चालनका लागि व्यवस्थापन गर्नुका साथै नपुगका लागि नजिकमा रहेका मन्त्रालयका केही कोठा प्रयोगका लागि सरकारलाई पत्राचार गरिसकेको छ । भौतिक पूर्वाधारको कमीले व्यवस्थापिका–संसद् र संविधानसभा समितिका कतिपय सभापतिलाई एउटै कोठामा व्यवस्थापन गर्दा देखिएको अप्ठेरोपना र अनुपयुक्ततालाई दृष्टिगत गरी सचिवालयले यसपटक त्यसलाई परिमार्जन गरेको छ ।

नयाँ सविधानसभाले अघिल्लो संविधानसभाका कामकारबाहीलाई स्वामित्व ग्रहण गरेर अघि गएको खण्डमा समितिको कामको बोझ कम हुने र भइरहेको जनशक्तिबाटै सबै कामको जिम्मेवारी पूरा गर्न सकिने सचिवालयको ठहर छ । अन्यथा बैठकको प्रारम्भदेखि नै जनशक्ति बढाउनुपर्छ भन्ने निष्कर्षमा सचिवालय पुगेको छ ।

सचिवालयले तयारीको क्रममा आवश्यक देखिएको र नेपाल सरकारले उपलब्ध गराएको बजेटको सीमाभित्र रहेर संविधानसभा अध्यक्ष र उपाध्यक्षका लागि नयाँ गाडी खरिदका लागि समेत बोलपत्र आह्वान गरिसकेको छ ।

अघिल्लो संविधानसभाको बैठक सञ्चालनको अनुभवसमेत सँगालिसकेको आधारमा राजनीतिक दलहरूबीच सहमति भई तत्कालै संविधानसभाको बैठक बसे पनि त्यसलाई सुव्यवस्थित ढङ्गले सञ्चालनका लागि व्यवस्थापिका–संसद् सचिवालय पूर्ण तयारी अवस्थामा रहेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us