
सोलुखुम्बु, २ पुस–जिल्ला अस्पताल फाप्लुमा डाक्टर नहुँदा शवपरीक्षण गर्न समस्या भएको छ । भएको एकजना डाक्टर पनि तालिममा गएपछि शवपरीक्षण गर्न समस्या भएको हो ।
नेले– ७ की ३० वर्षीया पुटीमाया शेर्पालाई मृत अवस्थामा भेटिएपछि शवपरीक्षण गर्न सोमबार जिल्ला अस्पताल फाप्लुमा ल्याइए पनि डाक्टर नभएपछि अझै शवपरीक्षण हुन सकेको छैन ।
‘शव हिजै ल्याए पनि जिल्ला अस्पतालमा डाक्टर नभएपछि अझै शवपरीक्षण हुन सकेको छैन, सायद भोलि छिमेकी जिल्लाबाट डाक्टर आएपछि हुन्छ होला’ प्रहरी नायव उपरीक्षक बद्रिविक्रम थापाले भने ।
भएको एक जना डाक्टर २० दिनअघि नै ४५ दिने तालिममा धरान गएपछि जिल्ला अस्पताल फाप्लु अहेबको भरमा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका नारायण तामाङको भनाइ छ ।
सोलुखुम्बु जिल्लाको लागि यस्तो घटना यो पहिलो भने होइन । बेलाबेलामा यहाँको जिल्ला अस्पतालमा डाक्टर नहुँदा छिमेकी जिल्लाका डाक्टरलाई गुहारी शवपरीक्षण गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ ।