फेसबुकमार्फत हाजिरीजवाफ

काठमाण्डु टुडे २०७० पुष २ गते ५:३९ मा प्रकाशित

Facebookम्याग्दी, २ पुस–म्याग्दीको चिमखोला गाविसमा रहेर अहिले देश तथा विदेशमा रहेकाहरूको फेसबुक समूह ‘चिमखोले फेसबुक समूह’ले विद्यार्थीहरूको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले गाउँमै हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

अमर मावि चिमखोलमा आयोजित उक्त कार्यक्रममा पाखापानी स्रोत केन्द्रका विभिन्न आठ विद्यालयको सहभागिता रहेको थियो । अन्तर प्राथमिक हाजिरीजवाफ प्रतियोगितामा रायखोर प्रावि रायखोर प्रथम, अमरमावि चिमखोला द्वितीय र जनसुन्दर प्रावि पात्लेखर्क तृतीय भएको आयोजकले जनाएको छ । विजयी विद्यालयलाई नगद क्रमशः दुई हजार, एक हजार ५०० र एक हजारको साथमा जिन्सी तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरेको छ ।

प्रतियोगितामा प्रथम हुन सफल रायखोर प्राविले रनिङ सिल्डसमेत हात पार्न सफल भएको फेसबुक समूहका नेपाल संयोजक गणेश पुनले जानकारी दिए । चिमखोलामा जन्मिएर अहिले विभिन्न ठाउँमा रहेकाहरू २२४ आबद्ध भएका ‘चिमखोले फेसबुक समूह’ले समूहमा आबद्ध भएकाहरूबाट आर्थिक सङ्कलन गरेर विगत तीन वर्षदेखि अन्तर प्राथमिक हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न सुरु गरेको थियो ।

पुख्र्यौली गाउँबाट विभिन्न सिलसिलामा देश तथा विदेशमा छरिएर रहेकाहरूलाई एकीकृत गरी गाउँको शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले यसरी फेसबुक समूहमार्फत विद्यालयको प्राथमिक तहमा विविध प्रतियोगिताको आयोजना गर्न सुरु गरिएको हो ।

सोही कार्यक्रममा थालीनाचका सुरुवातकर्ता हिरामाया पुन श्रीसलाई सम्मान गरिएको थियो । सो फेसबुक समूहलाई यो कार्यक्रमको निरन्तरताका लागि केही समयअगाडि विद्यालयमा आयोजित एक कार्यक्रममा म्याग्दीको उत्तरी दानाका कमल पुर्जाले अक्षयकोष स्थापनार्थ एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us