विमानस्थल सुनसान, बसपार्कमा भनाभन

काठमाण्डु टुडे २०७० पुष २ गते ४:१२ मा प्रकाशित

जुम्ला, २ पुस–नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि उडान भर्ने निजी विमान कम्पनीले एक्कासि भाडा बढाएपछि जुम्लाका अधिकांश यात्रु कर्णाली राजमार्ग हँुदै यात्रा गर्र्ने गरेका छन् । निजी विमान कम्पनीले सुर्खेत नेपालगन्जमा लोड नभएको भन्दै जुम्लाबाट साढे १२ हजार रुपैयाँ नतिरेसम्म उडान नभर्ने अडान राखेपछि यात्रु कर्णाली राजमार्गबाटै जान थालेका हुन् ।

जुम्ला विमानस्थलमा चार दिनसम्म टिकटको पर्खाइमा बसेका मालिकाठाँटा–६ का धनबहादुर रावतले विमानस्थलमा टिकट नपाएर बसपार्कबाट कर्णाली राजमार्ग हँुदै जानु परेको बताए । ‘हवाई जहाज चढौं आर्थिक पहुँच छैन, बसमा जाऔं भनाभन निकै गर्नुपर्दछ,’ उनले भने, ‘यहाँको बसपार्कमा दैनिक दुईवटा बस सुर्खेत नेपालगन्जका लागि छुट्छन् तर त्यसमा पनि यात्रुहरुले एकले अर्कोलाई गालीगलौज र भनाभन गरेपछि मात्र टिकट पाइयो,’ रावतले दुःखेसो पोखे ।

व्यक्तिगत कामको सिलसिलामा नेपालगन्ज जाने धेरैले हवाई जहाजमा जाँदा झन्डै १३ हजार रुपैयाँ खर्च गर्नुपर्छ । विमानस्थलमा रहेका निजी विमान कम्पनीका सबै स्टेसनका कर्मचारीले तलतिर लोड नभएकाले हवाई जहाज घाटामा चलिरहेको र त्यसको खर्च माथितिरबाट जानेबाट उठाउने गरेको जनाएका छन् । कर्णालीवासीलाई सेवा दिने नाममा निजी हवाई कम्पनीले ठगेको, पहँुचका आधारमा टिकट वितरण गर्ने गरेको, सर्वसाधारणलाई वास्तासमेत नगरेको गुनासो जिल्ला प्रशासन कार्यालयमा गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि विमानस्थलमा भइरहेको मनपरी हटाउन सहायक प्रमुख जिल्ला अधिकारी चेतनकुमार खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको पहिलो बैठकले तलतिरबाट लोडसहित हवाई जहाज आए सहुलियत दरमै उडान भर्ने र लोड नभए चार्टर फ्लाइट साढे १२ हजार रुपैयाँ लिएर उडान भर्ने निर्णय गरेको थियो ।

औपचारिकरुपमै निर्णय भएपछि निजी विमान कम्पनी मोटाउने काम काम मात्र भएको स्थानीयवासीको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us