
काठमाण्डु, २ पुस– किराँत समुदायको प्रमुख चाड उधौली मंगलबारबाट शुरु भएको छ । राई, लिम्बु, सुनुवार र याक्खाले मनाउने गरेको उधौली मंगलबारबाट १५ दिनसम्म मनाउने गरिन्छ ।
अन्नबाली पाकेर भित्राएको खुसियालीमा कूल पितृलाई चढाएर उधौली पर्व मनाउने परम्परा छ ।
ललितपुरको हात्तिबनमा उधौलीको रौनक छ । त्यहाँ चारै किराँत समुदायका पूजारीले सामुहिक पूजा गरी उधौली पर्वमा नाचगान गरी रमाइलो गरिन्छ । उधौलीपर्वमा किराँत समुदाय एक ठाउँमा भेला भई साकेला सिली नाच्दै शुभकामना आदान प्रदान गर्ने चलन छ ।
किराँत समुदायले बाली लगाउने बेला बैशाखे पूर्णिमालाई उभौली र बाली भित्रयाउने बेला मंसिरे पूर्णिमालाई उधौली पर्वका रुपमा मनाउने गर्दछन् । अन्नबाली भित्रयाउने बेला भूमि र पुर्खाहरुको सम्मान स्वरुप मंसिर पूर्णिमाका दिन पूजा सहित साकेला नाच्ने गरिन्छ । हरेक बर्ष मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाका दिन मनाईने उधौली पर्वका अवसरमा सरकारले आज सार्बजनिक विदा दिएको छ ।
राष्ट्रपति–उपराष्ट्रपतिको शुभकामना
यसैबीच उधौली पर्वको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा शुभकामना व्यक्त गर्दै यो पर्व सबै नेपालीमा सामाजिक सामन्जस्यता कायम राख्ने प्रतीकको रुपमा रहीरहोस् भन्ने कामना गरेका छन् । आजको दिनले सबै धर्मालम्वी, जातजाति, भाषाभाषी एकताबद्ध भइ आपसी सदभाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति सुव्यवस्था स्थापनाको लागि प्रेरित गर्ने उनको विश्वास छ ।
यसैगरी उपराष्ट्रपति परमानन्द झाले सम्पूर्ण किराँत समुदायलाई शुकामना दिदै यस पर्वबाट किराँतका साथै अन्य समुदायका नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुदै जाने विश्वास व्यक्त गरेका छन् ।