
काठमाण्डु– धान्यपूर्णिमाको अवसरमा नेवार समुदायले योमरी पूर्णिमा मनाएका छन् । नेवार समुदायमा मंसिर शुक्ल पूर्णिमालाई सबैभन्दा महत्व र ठूलो पूर्णिमाको रुपमा लिने गरिन्छ ।
आजको दिन नयाँ चामलको पिठोबाट लक्ष्मी, कुमार र गणेशको स्वरुपमा रोटी बनाउनुका साथै तील र चाकु राखेर योमरी बनाई पूजा गर्ने चलन छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।
आजै दशौं ज्यापु दिवस पनि मनाइएको छ । दिवसको अवसरमा परम्परागत झाँकी सहित काठमाण्डुको लगनटोलबाट र्याली निकालिएको छ । योमरी सहित निकालिएको र्याली ठमेल, न्यूरोड शालिक हुँदै बसन्तपुरमै पुगेर सम्पन्न भएको थियो ।