
काठमाण्डु, १ पुस– निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा हालसम्म करिब रु चार अर्ब ८४ करोड खर्च भएको प्रारम्भिक अनुमान गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त भएपछि अन्तिम खर्च विवरण सार्वजनिक गरिने आयोगका प्रवक्ता वीरबहादुर राईले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संविधानसभा निर्वाचनका लागि विभिन्न राष्ट्रबाट बास्केट प्रणाली फन्डअनुरुप नेपाल पिस ट्रस फन्डमार्फत रु चार अर्ब ७५ करोड र सरकारबाट रु तीन अर्ब गरी रु सात अर्ब ७५ करोड विनियोजन भएकोमा उक्त रकम खर्च भएको आयोगले जनाएको हो ।
यसैगरी संविधानसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत जम्मा ९५ लाख १६ हजार ७२४ मत खसेकामा सदर मत ९० लाख ४४ हजार ८९८ थियो । बदर मत चार लाख ७१ हजार ८२६ थियो । प्रत्यक्षतर्फ सदर मत प्रतिशत ७८ दशमलव ३४ र बदर मत प्रतिशत चार दशमलव ९६ प्रतिशत थियो ।
त्यस्तै समानुपातिकतर्फ ९७ लाख ७६ हजार मत खसेकामा सदर मत ९४ लाख ६३ हजार ८६२ र बदर मत तीन लाख १२ हजार ८४१ थियो । समानुपातिकमा कुल मतदान प्रतिशत ७९ दशमलव ८२ प्रतिशत र बदर मत तीन दशमलव २० प्रतिशत रहेको थियो ।
अघिल्लो निर्वाचनको तुलनामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ शून्य दशमलव १९ र समानुपातिकतर्फ शून्य दशमलव ४६ प्रतिशतले बदर मत घटेको आयोगका प्रवक्ता राईले जनाए ।
यसैगरी निर्वाचनमा राष्ट्रियस्तरका ५४ र अन्तर्राष्ट्रियस्तरका तीन गरी ५७ संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिइएकामा अन्तर्राष्ट्रिय संस्थाबाट २४९ र राष्ट्रिय संस्थाहरुबाट ५४ मध्ये ४६ संस्थाका ३१ हजार ६५४ जनाले पर्यवेक्षण गरेका थिए ।
यस्तै आयोगको गत साउन १ गतेसम्मको कुल बेरुजु रु ४४ करोड २६ लाख ६४ हजार रहेकामा कात्तिक मसान्तसम्म रु २७ करोड पाँच लाख ९७ हजार फछ्र्योट भएको जनाएको छ । रासस