काशी तिवारी हत्याका अभियुक्त माओवादी कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०७० पुष १ गते १२:४३ मा प्रकाशित

वीरगञ्ज, १ पुस – एकीकृत माओवादीका एक समानुपातिक उम्मेदवारलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको छ ।
एकीकृत माओवादी भोजपुरा राज्य  समिति सदस्य फिरोज भनिने सियाराम कुशवाहालाई पर्सा प्रहरीको विशेष टोलीले सोमबार चितवनको भण्डाराबाट पक्रेको हो ।

उनी हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशी तिवारी हत्याका अभियुक्त हुन् । तिवारीको २०६७ साल असार १२ गते वीरगञ्ज–१३ स्थित अशोकवाटिकामा गोली हानी हत्या भएको थियो ।

पर्सा जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धामा  पक्राउ गर्न दुई वर्षअघि नै आदेश दिइसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक धिजरप्रताप सिंहले कुशवाहालाई अदालत पेश गर्ने जानकारी दिए । अर्का हत्या आरोपी अमन कुशवाह भने पुर्पक्षका लागि थुनामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us