बङ्गलादेशमा विरोध जारी

काठमाण्डु टुडे २०७० पुष १ गते ११:५२ मा प्रकाशित

ढाका, १ पुस– बङ्गलादेशमा विगतका महिनादेखि लगभग दिनहुँजसो जारी रहेको विरोध प्रदर्शन सोमबार पनि सुरु भएको जनाइएको छ ।

बङ्गलादेशको एक ठूलो मुस्लिम दलका नेता क्वादर मुल्लालाई सन् १९७१ मा स्वतन्त्रताको युद्धमा आमहत्या गरेको आरोपमा मृत्युदण्ड दिइएपछि इस्लामी समर्थकहरूले विरोध प्रदर्शन जारी नै राखेका बताइएको छ ।

विरोधमा उत्रिएका मुस्लिम दलका कार्यकर्ताहरुले सोमबार पनि सत्ताधारी दल र तिनका नेता कार्यकर्ताको घरमा समेत आगजनी गरेका छन् । सोही विरोधको क्रममा प्रहरीले हस्तक्षेप गर्दा आइतबार छ व्यक्तिको मृत्यु भएको थियो ।

इस्लामी समर्थकहरूले जमात–ए–इस्लामी दलका वरिष्ठ नेता मुल्लालाई मृत्युदण्ड दिएको विरोधमा राष्ट्रव्यापी रूपमा प्रदर्शन गरिरहेका छन् । सरकारी प्रवक्ता हबिबुर रहमानले आइतबार प्रदर्शनकारीले करिब २० घरमा आगो लगाइदिएको बताए ।

गत बिहीबार मुल्लालाई मृत्युदण्ड दिइएपछि जमात ए इस्लामिकका कार्यकर्ता तथा प्रहरी र सत्ताधारी अवामी लिगका समर्थकबीच भएका सङ्घर्षमा पच्चीस व्यक्तिको मृत्यु भइसकेको छ । यस आन्दोलनमा परी सयौँ जना घाइते पनि भएका छन् ।

उता बङ्गलादेशको सरकारले नयाँ निर्वाचनको घोषणा गरिसकेको छ । वर्तमान प्रधानमन्त्री शेख हसिनाले राजिनामा नदिएसम्म प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी तथा उसका १७ सहयोगी दलले निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।

तर सत्ताधारी अवामी लिग भने निर्वाचन गराउने दृढतामा रहेको छ । उसले कुनै पनि हालतमा नयाँ निर्वाचन गराउने बताएको छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ र गत शुक्रबारदेखि नै उम्मेदवारी दर्ताको काम पनि सुरु भएको छ ।

प्रहरीका अनुसार बङ्गलादेशका विभिन्न स्थानमा गोली लागेर २५ जनाको मृत्यु भएको छ । जसका कारण बङ्गलादेशमा थप राजनीतिक अस्थिरता उत्पन्न हुने जनाइएको छ । प्रहरीले विरोध प्रदर्शनमाथि हस्तक्षेप गर्ने गरेको छ ।

सन् १९७१ मा बङ््गलादेशमा स्वतन्त्रताका समयमा भएको क्रान्तिमा युद्ध अपराध गरेको आरोप प्रमाणित भएपछि ती नेतालाई मृत्युदण्ड दिइएको हो । अरु पनि केही नेतालाई त्यस्तो कारबाही हुनसक्ने बताइएको छ ।

सो समयमा तत्कालीन पाकिस्तानी सेनासँग मिलेर हजारौँ निर्दाेष नागरिकको हत्या गरिएको बताइएको छ । सोही आरोपमा केहीवर्षमात्र अघि स्थापना गरिएको युद्ध अपराध अदालतमा केही नेताहरुको अनुसन्धान जारी राखिएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us