अटेरी अस्पतालमा तालाबन्दी

काठमाण्डु टुडे २०७० पुष १ गते ९:२६ मा प्रकाशित

hospitalचितवन, १ पुस– मापदण्ड पूरा नगरी सञ्चालन गरेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार ती अस्पतालमा तालाबन्दी गरेको छ ।

दर्ता नभएको, नवीकरण नगरेको र अन्य मापदण्ड पूरा नगरेको देखिएपछि जिल्लाका चारवटा निजी अस्पताललाई बन्द गर्न एक साताअघि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको थियो । अस्पतालमा रहेका बिरामीलाई अवस्था हेरी अन्य अस्पतालमा पठाएर बढीमा तीन दिनभित्र अस्पताल बन्द गर्न प्रशासनले निर्देशन दिएको थियो ।

प्रशासनको निर्देशनको अवज्ञा गर्दै सञ्चालनमा रहेका भरतपुरको ओएसिस मेडिकल कलेज र एड्भान्स अस्पतालमा प्रशासनले आज तालाबन्दी गरेको हो । प्रशासन कार्यालयले दिएको निर्देशन अवज्ञा गरेर अस्पताल सञ्चालन गरेकाले बाध्य भएर आफूले अस्पतालमा तालाबन्दी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिए ।

ओम अस्पताल र पूर्वी चितवनको पर्सामा रहेको परोपकार अस्पताल भने प्रशासनको निर्देशनपछि बन्द भएका छन् । स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा गरेको अनुगमनका क्रममा ती अस्पतालले प्रक्रिया पूरा नगरेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो ।

चितवनमा एक सरकारी अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २६ वटा निजी अस्पताल सञ्चालनमा रहेका छन् । यसैबीच, ओएसिस मेडिकल कलेज भरतपुरका सञ्चालक मनोज चौधरीको शैक्षिक योग्यताको छानबिन गर्न शैक्षिक योग्यताका प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटाँैडा पठाइएको छ ।

चौधरीको शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि छानबिनका लागि जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक प्रमाणपत्रको सक्कल र नक्कल दुवै क्षेत्रीय कार्यालय पठाएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us