
ललितपुर, १ पुस– महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले ट्राफिक नियम उल्लङ्घन गर्ने केही जान्ने मान्नेले आफूलाई ठूलो ठान्ने प्रवृति हट्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
महानगरीय प्रहरी वृत्त ललितपुरले सोमबार आयोजना गरेको ‘ट्राफिक जनचेतना अभियान’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘केही ठूलाबडाले व्यवधान गरेपनि ठूलो संख्यामा सर्वसाधारणको सहयोग पाएको मादक पदार्थ सेवनको जाँच थालिएपछि सवारी दुर्घटना ७९ प्रतिशत घटेको छ ।’
प्रहरी नायब महानिरीक्षक अधिकारीले सवारी दुर्घटना कम गर्न ट्राफिक नियम पालना गराउन नागरिक समाजको सहयोग र हरेक सडक उपयोगकर्ताको होशियारी जरुरी रहेको बताए ।
ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशी, ललितपुर प्याव्सनका अध्यक्ष नवराज महत, ललितपुर हिसानका अध्यक्ष ऋषिराम तिवारी, महानगरीय ट्राफिक प्रहरी वृत्त ललितपुरका प्रहरी निरीक्षक शेरबहादुर चन्दलगायतले सडक दुर्घटना न्यूनीकरणका उपाय र निजी क्षेत्रको सहयोग तथा समन्वय विषयमा बोले ।