कहिले होला संविधानसभाको पहिलो बैठक ?

काठमाण्डु टुडे २०७० पुष १ गते ८:१० मा प्रकाशित

biccकाठमाण्डु, १ पुस–संविधानसभाका नवनिर्वाचित सभासदहरुले संविधानसभाको बैठक कहिलेदेखि सुरु होला भनेर चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्ला केही दिनयता नवनिर्वाचित सभासद् सिंहदरबारमा व्यवस्थापिका संसदको कार्यालयमा पुग्ने क्रमसमेत बाक्लिएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि संविधानसभाको बैठक कहिलेदेखि सुरु हुन्छ भन्ने स्वयम् जनप्रतिनिधिलाई अत्तोपत्तोप नहुनुले राजनीतिक नेतृत्व अनेकौं ठक्कर खाएर पनि अझै परिपक्व हुन नसकेको भान हुन थालेको छ ।

व्यवस्थापिका संसद् सचिवालयका महासचिव, सचिव र प्रवक्तासँग नवनिर्वाचित सभासदहरुले संविधानसभाको पूर्णता कहिलेसम्म हुने तथा बैठक कुन मितिदेखि प्रारम्भ होला भन्ने पाटो र पक्षबाट जिज्ञासा राख्ने क्रम बढेको बुझिएको छ । संसद सचिवालयमा आफ्ना समकक्षीसँगको अनौपचारिक भेटघाट र छलफलमा रहनुभएका नवनिर्वाचित सभासद् रामजनम चौधरीले यसै विषयमा केन्द्रित रहेर चासो व्यक्त गरेका थिए । नेकपा एमालेबाट संविधानसभाका लागि दोस्रोपटक निर्वाचित सभासद् रवीन्द्र अधिकारीसँग अरू नवनिर्वाचित धेरै सदस्यले संविधानसभा र व्यवस्थापिका–संसद्को बैठक कहिले सुरु हुन्छ भनेर चासो र जिज्ञासा राख्दै आएका छन् ।

उता संविधानसभाको निर्वाचनपछिको राजनीतिक परिस्थिति र गतिरोध अन्त्यका लागि दैनिकजसो बस्दै आएको उच्चस्तरीय राजनीतिक समितिमा दलहरूबीच सहमति कायम हुन नसक्दा संविधानसभाको गठनले पूर्णता पाउने र बैठक सुरु हुने मिति लम्बिन सक्ने स्पष्ट सङ्केत दिएको छ ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा चयन हुने सभासदको नाम पुस पहिलो साता  भित्र दलहरूले सिफारिस गरेर पठाएमा माघको पहिलो सातासम्ममा बैठक प्रारम्भ हुन सक्ने सम्भावना छ । उच्चस्तरीय राजनीतिक समितिमा सहमतिका लागि जति समय लम्बिन्छ संविधानसभा र व्यवस्थापिका–संसद्को बैठक त्यति नै पर धकेलिने सम्भावना प्रबल देखिएको छ ।

प्रमुख राजनीतिक दलले समानुपातिकका लागि नाम सिफारिस गर्न समयावधि बढाउने विषयमा केन्द्रित गरेर पछिल्लो समयमा गर्दै आएका छलफलले संविधानसभाको बैठक प्रारम्भ हुने र नयाँ सरकारसमेत गठनको विषय अझ अनिश्चित बन्दै गएको छ । नेपाली काँग्रेसका तर्फबाट संविधानसभामा विजयी भएका नेता रमेश लेखकले सर्वभौमसत्तासम्पन्न जनताले आफ्ना जनप्रतिनिधि चयन गरिसकेपछि छिटोभन्दा छिटो संविधानसभाको बैठक आह्वान गरी त्यहीँबाट अहिले उठ्दै आएका यावत् समस्याको निराकरण खोज्नु बुद्धिमत्ता हुने प्रतिक्रिया दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us