ऐतिहासिक दाफा भजन लोप हुँदै

काठमाण्डु टुडे २०७० पुष १ गते ४:२९ मा प्रकाशित

Dafa-Bhajanभक्तपुर, १ पुस–हरेक साँझ भक्तपुरको टोलटोलमा गाइने दाफा भजन संरक्षणको अभावमा लोप हुँदै गएको छ । उपत्यकाको काठमाण्डु र ललितपुर जिल्लामा भन्दा भक्तपुरमा दाफा भजन समूहको सङ्ख्या बढी भए पनि पछिल्लो समयमा दाफा भजन समूहमा युवापुस्ताको आकर्षण घट्दै गएपछि र समूहमा आर्थिक अभावको  सिर्जना भएपछि ऐतिहासिक एवम् सांस्कृतिक धरोहर बोकेको दाफा भजन लोप हुने अवस्थामा पुगेको हो । यो भजन लिच्छिविकालदेखि नै अस्तित्वमा रहेको छ ।

केही वर्षअघिसम्म भक्तपुर नगरका टोलटोलमा गाइने दाफा भजन ऐतिहासिक एवम् सांस्कृतिक परम्परा धान्नकै लागि अहिले निश्चित स्थानमा मात्र गाउने गरिएको छ । ‘भक्तपुर नगरको टोलटोलमा साँझ भजन तथा धार्मिक क्रियाकलापले गर्दा यहाँको वातावरण सङ्गीतमय हुने गर्दथ्यो तर अहिले धेरै ठाउँमा भजन गुञ्जिन छाडेको छ, संस्कृतिकर्मी प्रकाशचन्द्र श्रेष्ठ  भन्छ, ‘ऐतिहासिक एवम् सांस्कृतिक परम्परालाई जोगाउन पुराना पुस्ताको प्रयास मात्र पर्याप्त हुँदैन, अहिलेका नयाँ पुस्ता र सम्बन्धित निकायको चासो नहुँदा यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ ।’

भक्तपुर नगरपालिकाका अनुसार केही वर्षअघि सम्म नगरपालिका क्षेत्रमा करिब २५० वटा दाफा रहेकामा अहिले करिब नाच र भजन १५० दाफा भजन खल मात्र रहको छ । वडावडाका स्थानीय बुढापाका र समुदाय आफँै दाफा भजन मण्डलीलाई जोगाउन र संरक्षण गर्न सक्रियतापूर्वक लागिरहेका छन् । तर, यसतर्फ नयाँ पुस्ताको रुचि नहुनु र सांस्कृतिक परम्परा जोगाउन सम्बन्धित निकायको चासो नजाँदा संरक्षणको अभावमा दाफा भजन मण्डली लोप हुँदै गइरहेका छन् ।

परापूर्वकालदेखि नै नेवार समुदायभित्र दाफा भजनलाई सामूहिक सम्बन्ध विस्तारको माध्यमका रुपमा लिने गरेको पाइन्छ भने संस्कृतिको विभिन्न रुप पनि यसैमा पाइने गरिन्छ । दाफा भजन मण्डलीसँंग आर्थिक अवस्था कमजोर हुँदा प्रायः जसो सबै भजन खलले आर्थिक अभाव झेल्दै आएका छन् । गुठी संस्थानले वास्ता नगरेका कारण आर्थिक अभाव पर्दै गएको दाफा भजनका नाइके बताउँछन् । जसोतसो परम्परालाई जीवन्तता दिन भजनमण्डली र गानाबजाना समूह वर्तमान समयमा जसोतसो चलिरहेका छन् ।

भजन खलमा आवश्यक बाजागाजा नासिने, मासिने र बिग्रने भएकाले सामानको अभाव खड्कने क्रम बढ्दो छ । आर्थिक दृष्टिकोणले सक्षम रहन सके नयाँ पुस्तालाई प्रशिक्षणको अभाव नखड्कने र प्रशिक्षक नियुक्ति गरी जीवन्तता प्रदान गर्न सकिने भजन खलका सदस्यहरु बताउँछन् । त्यस्तै नयाँ बाजागाजा ल्याउन सकिएको छैन भने पुराना बाजागाजा पनि मर्मत गर्न नसक्दा थप समस्या आइरहेको छ । गणेश भजन मण्डलका भीमप्रसाद प्रजापतिका अनुसार दाफा भजन समूहलाई कहीँकतैबाट सहयोग भए यसको संरक्षणमा टेवा पुग्ने बताउँछन् ।

अहिले युवापुस्ता दिन प्रतिदिन आधुनिकतातर्फ उन्मुख भइरहेको समयमा भजन प्रतियोगिता तथा सम्मेलनले संस्कृतिको जगेर्नामा मात्र नभएर युवापुस्तालाई आकर्षण गर्नका लागि भजन सम्मेलन गरिनुपर्ने मागसमेत बढेको छ । केही भजन मण्डलीमा पुराना बाजा राख्नका लागि ठाउँको अभावमा वर्षको एकपटक बैठक गरेर कहाँ राख्ने भनेरसमेत पालो लगाउने गरेको बताउँछन् ।

भक्तपुरमा नौबाजा ६, गानाबाजा दाफाहरु ६३, ढोलक ३६, भजन मण्डली १३, क्वाखी बाजा एक, धिमेबाजा मण्डल २३, धाँवाबाजा टोली तीन, गुँलाबाजा (सलामी) तीन, गाइने पाँच, नृत्य मण्डली ३०, नवदुर्गा नाच एकवटा लगायतका बाजा रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us