छ दिनपछि सकुशल अपहरणमुक्त

काठमाण्डु टुडे २०७० पुष १ गते ४:१८ मा प्रकाशित

गौशाला, १ पुस–महोत्तरीको सोनमा गाविस–५ बस्ने २० वर्षीय सुशील यादव ६ दिनपछि सकुशल अपहरणमुक्त भएका छन् । अपहृत यादवलाई परिवारजन तथा महोत्तरी प्रहरीको संयुक्त प्रयासमा सर्लाही जिल्लासँग जोडिएको भारतको सीतामढी जिल्लाअन्तर्गत पर्ने सोनबरसा बजारबाट अपहरणमुक्त गराइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

गएराति करिब ९ बजेको समयमा अपहृत यादवलाई अपहरणकारीहरुले सोनबरसाको रजौटा भन्ने ठाउँमा लुकाइराखेको अवस्थामा परिवारजन तथा प्रहरीले फेला पारेका थिए । यादव सकुशल र निःसर्त अपहरणमुक्त भएको र अहिले उनी आफ्ना परिवारजनको सम्पर्कमा आफ्नो घरमै रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत मंगलबार राति ८ बजेको समयमा साथी शैलेन्द्र यादवसँग मोटरसाइकलमा चढी घरबाट गौशाला बजारतिर गइरहेको सुशील यादवबीच बाटोमा पर्ने पर्सादेवार–४ स्थित पर्सा भरदह भन्ने ठाउँबाट अपहरणमा परेका थिए । अपहरणकारीले दुवै साथीलाई सडकभन्दा तल उँखुघारीमा लगी पछि शैलेन्द्रलाई छाडे पनि सुशीललाई अपहरण गरिलगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us