सभासद बन्न व्यापारीहरुबीच खुट्टा तानातान

काठमाण्डु टुडे २०७० पुष १ गते ३:३० मा प्रकाशित

runningविराटनगर, १ पुस–दलहरुले निर्वाचन आयोगमा समानुपातिक उमेदवारको अन्तिम नामावली सिफारिस गर्ने दिन नजिक आउँदै गर्दा विराटनगरका उद्योगी व्यवसायीहरुबीच एकअर्काको खुट्टा तान्ने काम तिब्र भएको छ । समानुपातिक सूचीमा परेका ठूलादेखि साना दलका माडवारी समुदायका उमेदवारहरु यतिबेला एकले अर्कोलाई खुइल्याउने अभियानमा जुटेका छन् ।

राजनीतिक दललाई मोटो रकम चन्दा दिएर उम्मेदवार सिफारिसदेखि ३ सय ३५ जनाको बन्द सूचीमा नाम समावेश गराउन सफल भएका उनीहरु यतिबेला आफ्नो नाम जुनकुनै हालतमा समावेश गराउन लागि परेका छन् । एकातिर आफ्नो नाम सभासदकालागि सुनिश्चित गराउन उमेदवारहरु लागेका छन् भने उनीहरुकै प्रतिष्पर्धी तथा व्यवसायिक क्षेत्रमासमेत प्रतिष्पर्धी रहेकाहरु भने कुनै हालतमा सभासद बन्न नदिन सबै उपाय अपनाउने गरी लबिङ्ग थालेका छन् ।

नेपाली काँग्रेस पार्टीका तर्फबाट समानुपातिक सूचीमा समावेश भएका विराटनगरका उद्योगी तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेश जाजुले नेपाली काँग्रेसलाई ५ करोड रुपैयाँ सहयोग गरेर समानुपातिक तर्फको बन्द सूचीमा पर्न सफल भएको बताइएको छ । झापा, मोरङ र सुनसरीका २२ निर्वाचन क्षेत्रका प्रत्येक काँग्रेस उमेदवारहरुलाई उनले ५ लाख रुपैयाँको दरले सहयोग गरेको बिषय विराटनगरका व्यवसायीहरुबीच चर्चामा छ ।

काँग्रेसलाई सहयोग गरेको आधारमा जाजु सभासदको लाइनमा सुनिश्चित जस्तै देखिए पनि उनलाई सभासद बन्नबाट रोक्ने खेल अर्काथरी व्यापारीहरुले जारी राखेका छन् । यसअघि सदभावना पार्टीका तर्फबाट संविधानसभा सदस्य रहेका मोती दुगढले जाजुलाई सभासद बन्नबाट रोक्न जुनसुकै मूल्य चुकाउन तयार भएर लागि परेको बताइएको छ । नव नेपाल निर्माण पार्टीका अध्यक्षसमेत रहेका दुगढ यसपटक संविधानसभामा प्रवेश पाएका छैनन् । उनको दलले करिव ९ हजार मतमात्र प्राप्त गरेको थियो । आफु सभाषद हुन नपाउँदा दुगढ जति दुःखी छन् महेज जाजु सभासद भएभने उनी त्यो भन्दा कयौं गुणा दुःखी हुनेछन् । किनभने उनीहरु व्यवसायिक क्षेत्रका प्रतिष्पर्धी हुन् र आपसमा कटुतापूर्ण सम्वन्ध पनि छ । दुगढले जाजुलाई सभासद बन्नबाट रोक्न जाजुले जति रकम खर्च गरेका छन् त्योभन्दा बढी रकम पार्टी र तिनका नेतालाई दिने प्रस्ताव पठाइसकेको चर्चा विराटनगरमा चलेको छ ।

यसैगरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सूचीमा परेका पवन सारडालाई सभासद हुनबाट रोक्न व्यवसायीहरुको एउटा टिम नै सक्रिय बनेको छ । उनका बिषयमा सार्वजनिक ठाउँहरुमासमेत आलोचना गर्ने र खिसिटिउरी गर्ने कार्यले तिब्रता पाइरहेको छ । बिजयकुमार गच्छदारसँग निकट सम्वन्ध राख्ने व्यक्तिकोरुपमा परिचित सारडाका प्रतिष्पर्धी दिनबन्धु गोयल र शंकरलाल अग्रवाल रहेका छन् । यि मध्ये अग्रवाल आर्थिकरुपमा कमजोर छन् । गोयल र सारडा सभासद पदकालागि जतिसुकै रकम खर्च गर्ने हैसियतमा छन् । एकसाता अघिसम्म गोयलको पक्षमा रहेका गच्छदार पछिल्लो समयमा विपक्षमा पुगेको बताइएको छ । गच्छदार गोयललाई भन्दा सारडालाई सभासद बनाउन सकेको खण्डमा पार्टीलाई आर्थिकरुपले बढी फाइदा हुने निष्कर्षमा पुगेका छन् ।

नेकपा एमालेले सभासद बनाउन लागेको राज्य लक्ष्मी गोल्छाको बिषयमा भने कसैले चासो दिएको देखिदैन । प्रारम्भमा नै बिवाद चुलीएपछि एकपटक सभाषद सूचीबाट नाम हटाइपाऊँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएकी गोल्छाले पार्टीले मागेको ५ करोड रुपैयाँ स्वेच्छिक चन्दामा डिस्काउन्ट गरेर २ करोड रुपैयाँमात्र बुझाउने सहमति पछि उनको सभासद पद सुनिश्चित भैसकेको छ । त्यसरी सुनिश्चित भइसकेका कारण उनको बिषयमा विवाद देखिएको छैन ।

यसैगरी एकीकृत नेकपा माओवादीले सभासदको सूचीमा राखेको राजकुमार गोल्छा र दिलिप बगडीया (अग्रवाल)को सभासद बन्ने सपना सकीएको छ । एमाओवादीले अपेक्षा गरेभन्दा आधा मत प्राप्त गरेको कारण गोल्छा र अग्रवाल सभासदको रेसबाट बाहिरिएका छन् । पार्टीले प्राप्त गरेको सिट संख्याले आफू सभासद बन्ने सम्भावना नरहेको भन्दै उनी बन्द व्यापारमा संलग्न हुन थालेका छन् ।

ति बाहेक अधिकांश समानुपातिक सभासद अथवा बन्दसूचीमा रहेका उम्मेदवारहरु काठमाण्डुमा डेराडण्डा जमाएर बसिरहेका छन् । समानुपातिक सूची तर्फको अन्तिम नामावली सिफारिस गर्ने समय थपीएको खण्डमा उनीहरुको थप रकम खर्च हुने त्रासमा व्यवसायीहरु छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us