सप्तरीमा मिसन घाँस कार्यक्रम सुरु

काठमाण्डु टुडे २०७० पुष १ गते ३:१५ मा प्रकाशित

सप्तरी, १ पुस–हरियो घाँस उत्पादनमार्फत पोषणयुक्त घाँसको आभावमा कमी ल्याउँदै दूध तथा मासुजन्य पदार्थको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यका साथ सप्तरीमा व्यावसायिक घाँस मिसन कार्यक्रम सुरु भएको छ ।

राष्ट्रिय घाँस मिसन कार्यक्रमअन्तर्गत जिल्ला पशु सेवा कार्यालय सप्तरीले सप्तरीको घाँस उत्पादनका लागि बीउ वितरणका साथै बीउ लगाउने र घाँसखेतीबारे कृषकलाई आवश्यक सरसल्लाहसमेत दिन सुरु गरेको छ ।

जिल्लामा पहिलोपटक सुरु भएको घाँस मिसन कार्यक्रमअन्तर्गत जिल्लाको महुली, बदगामा, १ नम्बर योगिनियाँ, फतेपुर, कञ्चनपुर, त्रिकोल, लोहजार लगायतका गाविसका करिब ३० बिघाभन्दा बढी जग्गामा घाँसखेतीका लागि बीउ लगाइएको जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादवले जानकारी दिए ।

यसका साथै सामुदायिक पशु प्रजनन कार्यक्रम सञ्चालन भएका जिल्लाको लालापट्टी, बरहीबिरपुर, छिन्नमस्ता, नर्घाे, पातो, सिस्वा बेल्ही, कडरबोना, बनौली, कल्याणपुर लगायतका गाविसका कृषकलाई पनि घाँसको बीउ वितरण गरिएको छ । स्थानीयस्तरको घाँसभन्दा करिब पाँच गुणा बढी पोषण तत्व हुने जै र बर्सिम गरी दुई जातको घाँसको बीउ कृषकलाई वितरण सुरु गरेको प्रमुख यादवले जानकारी दिए । उनका अनुसार यो घाँसबाट पशुलाई चाहिने अत्यधिक पोषण तत्व प्राप्त हुने र दूध उत्पादनमा वृद्धिका साथै मासुजन्य पदार्थको उत्पादनमा उल्लेखनीय वृद्धि हुन्छ ।

यसका कार्यक्रम सञ्चालनपश्चात् जिल्लामा हुने हरियो घाँसको आभावमा कमी आउनुको साथै पशुमा देखिएको बढ्दो बाँझोपनको समस्यासमेत समाधान हुने तथा हरियो घाँसको बीउमा समेत जिल्ला आत्मनिर्भर हुने प्रमुख यादवको विश्वास छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us