चिलीको राष्ट्रपतिमा ब्याचलेट निर्वाचित

काठमाण्डु टुडे २०७० पुष १ गते ३:१० मा प्रकाशित

Michelle_Bachelet
काठमाण्डु, १ पुस– वामपन्थी नेता मिसेल ब्याचलेट दक्षिण अमेरिकी देश चीलीकी राष्ट्रपति चुनिएकी छन् । सत्तारुढ मध्यमार्गी दक्षिणपन्थी गठबन्धनका एभलिन माथेईलाई ठूलो अन्तरले पराजित गर्दै ब्याचलेट दोस्रोपटक चीलीकी राष्ट्रपतिको रुपमा विजयी भएकी हुन् ।

यसअघि सन् २००६ देखि २०१० सम्म उनी चीलीकी राष्ट्रपति थिईन् । यसअघि गत महिना भएको निर्वाचनमा झिनो मतले राष्ट्रपति निर्वाचित हुन नसकेकि ब्याचलेटले दोस्रो चरणको निर्वाचनमा ठूलो जीत हासिल गरेकी हुन् । गत नोभेम्बर महिनामा भएको निर्वाचनमा बासेलेटले ४७ प्रतिशत मत प्राप्त गरेकी थिईन् ।

चीलीमा राष्ट्रपति बन्न ५० प्रतिशत भन्दा बढि मत प्राप्त गर्नुपर्ने हुन्छ । दोस्रो चरणको निर्वाचनमा ब्याचलेटले झण्डै ७० प्रतिशत मत प्राप्त गरिन् । जीत पछि प्रतिकृया दिँदै उनले आफू सबैको राष्ट्रपति बन्ने प्रतिवद्धता जनाउँदै वर्तमान राष्ट्रपति सावस्टिन पिनेराले समेत आफूलाई राष्ट्रपति चुनिएकोमा बधाई दिईसकेको बताईन् ।

सन् १९९० मा सैनिक शासक अगुस्टो पिनोसेको सत्ता पतनपछि दुईपटक चीलीको राष्ट्रपति बन्ने ब्याचलेट पहिलो ब्यक्ति हुन् ।

ब्याचलेटले नेतृत्व गरेको समाजवादी पार्टीहरुको गठबन्धनले चीलीको संसदमा समेत ठूलो बहुमत हासिल गरेको छ । कम्युनिष्ट पार्टी समेतको साथ रहेको ब्याचलेटले गरिब र धनीबीचको खाडल कम गर्ने वकालत गर्दै आएकी छिन् । उनले निःशुल्कको शिक्षाकोलागि करको दायर बढाउने पनि बताउँदै आएकी छिन् ।

चीली दक्षिण अमेरिकाको सबैभन्दा धनी राष्ट्र हो । गत केहि समय यता चीलीमा सम्पत्तीको उचित वितरण र उन्न्त शिक्षाको माग राख्दै आन्दोलन भएका थिए ।

ल्याटिन अमेरिकाको धनी मानिने देश चिलीमा सन् १९६३ देखि १९९० सम्म पिनोसेले सैनिक शासन लादेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us