
मुगु, १ पुस–गाउँलाई अँध्यारोबाट उज्यालो पार्न जिल्लाको ग्रामीण बस्तीका खोलाको पानीबाट २४ भन्दा बढी स्थानमा लघु जलविद्युत् आयोजना निर्माण गरिए पनि मर्मत सम्भार हुन नसक्दा आयोजनाका लागि लगानी गरिएको ६ करोड रुपैयाँभन्दा बढी अलपत्र परेको छ । मर्मत सम्भार हुन नसकी अलपत्र परेका लघुजलविद्युत् आयोजनामध्ये गरिबी निवारण कोषका आयोजना बढी छन् ।
गरिबी निवारण कोषमार्फत बनाइएका २१ मध्ये आठवटा आयोजना चालु अवस्थामा छन् । त्यस्तैगरी ऊर्जा विकासका खत्याड खोला ३२ किलोवाट, रिखियाँ २० किलोवाट र सुकाढिक ११ किलोवाट सञ्चालनमा छन् भने दुर्गम क्षेत्र विकास समितिका तीनवटा आयोजना अलपत्र अवस्थामा छन् ।
जिल्लामा लघुजलविद्युत् आयोजना निर्माणपछि उपभोक्ता र लगानीकर्ताबीच समन्वय नहुँदा तथा उपभोक्ताले मर्मत सम्भार कोषको समेत व्यवस्था नहुँदा ६ करोड रकम खेर गएको जिल्ला विकास समितिले जनाएको छ । जिल्लामा रहेका यी आयोजनाको लागत न्यूनतम १५ देखि अधिकतम ७० लाखसम्म रहेको देखिन्छ ।
विगत वर्षहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोग र निजी क्षेत्रबाट सञ्चालित पेल्ट्रिकसेटद्वारा विद्युत् उत्पादन गरिए पनि लामो समयसम्म विद्युत् उत्पादनका लागि पेल्ट्रिकसेट टिकाउ नहँुदा बीचैमा बिग्रिएपछि दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र रहेका हुन् । कतिपय आयोजना निर्माण गरिएका स्थानहरुको समेत निसाना छैन भने जिल्ला ऊर्जा तथा वातावरण शाखासँग समेत यस्ता आयोजनाको अभिलेखसमेत छैन ।
जिल्लाका हेनिकाँध, निगाले, नाउरखोला, झ्यारी, करानको छाइल, रिउस, सेरोग, मुगु, कोटिल्ला, तिर्प, रोवा, कम्फा, मुर्मा, खमाले, कालैमा चारवटा, धैनकोट दुई, सुम्ली, पाँपु, आँसिधारा लगायतका गरेर जिल्लाभरिमा २७ वटा स्थानमा विद्युत् निकाल्नको निम्ति पेल्ट्रिकसेटको प्रयोग गरेर लघुजलविद्युत् सञ्चालनमा ल्याएर गाउँलाई उज्यालो पारिए पनि उपभोक्ता, सञ्चालक र सहयोगदाताद्वारा पुनः निर्माण तथा मर्मतसम्भार नहँुदा बत्ती बिना गाउँ नै अँध्यारो हुन पुगेका छन् । अलपत्र अवस्थामा रहेका लघुजलविद्युत् आँकडा हेर्दा करोडौं बजेट लघुजलविद्युत्मा लगानी गरेको पाइए पनि यसको मर्मत अभावमा जिल्लाको बजेट बालुवामा पानी हालेजस्तो भएको छ ।