समानुपातिक सभासदको सूची बुझाउन दलहरुले मागे एकसाताको समय

काठमाण्डु टुडे २०७० पुष १ गते ५:४० मा प्रकाशित

Main-Leadersकाठमाण्डु, १ पुस– उच्चस्तरीय राजनीतिक समितिले समानुपातिक सभासदको नामावली बुझाउन अझै एक हप्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार विहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले यही पुस १० गतेसम्मको म्याद बढाउन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो ।

कोइराला निवास महाराजगन्जमा बसेको बैठकले सहमतिको प्रयास गर्नुपर्ने भन्दै पुस ३ गतेदेखि थप एक साताको समय माग्ने निर्णय गरेको बैठकपछि काँग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिए ।

सहमतिको प्रयास जारी रहेको भन्दै दलहरुले आयोगलाई म्याद थप्न गरेको आग्रह यो दोस्रोपटक हो । यसअघि दलहरुकै आग्रहमा आयोगले ८ दिन म्याद थप्दै समानुपातिक सभासदको नामावली बुझाउने अन्तिम समयसीमा पुस ३ गतेसम्म तोकेको थियो ।

दलहरुले छलफललाई निरन्तरता दिए पनि आ–आफ्नो अडान कायम रहेपछि सहमति हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको दावी गर्दै एमाओवादीले स्वतन्त्र छानविन आयोग गठन गर्न माग गरेको छ भने काँग्रेस–एमाले लगायत दलले समग्र निर्वाचन प्रक्रियालाई प्रश्न उठाउने गरी आयोग गठन गर्न नसकिने बताउँदै आएका छन् । संसदमा गएर संसदीय समिति बनाउन सकिने उनीहरुको भनाइ छ ।

आग्रह अनुसार म्याद थपिन्छ : उप्रेती

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दलहरुको आग्रह अनुसार समानुपातिक सभासदको नामावली बुझाउने म्याद थपिने बताएका छन् । काभ्रेको धुलीखेलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उप्रेतीले म्याद थप्ने बताएका हुन् ।

‘दलहरुले आग्रह गरे हामी थप्न तयार छौं,’ उप्रेतीले भने, ‘आयोगले विवकपूर्ण निर्णय लिनेछ ।’

संविधानसभाको बैठक छिटो शुरु गरेर संविधान लेखन प्रक्रिया थाल्न पनि उनले दलहरुलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us