देशमा अनिष्टको सङ्केत, भीमसेनको शिलामा पसिना

काठमाण्डु टुडे २०७० मंसिर ३० गते १७:५८ मा प्रकाशित

दोलखा, ३० मंसिर–प्रसिद्ध दोलखाको भीमेश्वर मन्दिरको शिलामा आइतबार दिउँसो करिब दुई घण्टा पसिना आएको छ ।
भगवान भीमसेनको शिलामा सात वर्षपछि फेरि पसिना आएको हो । ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने बताइएको छ ।
भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राजदरबारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने प्रचलन रहेको छ । यसपटक भीमसेनको शिलाको शिरबाट तीनधारा हुँदै पसिना आएको छ ।
भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको स्थानीयवासीको भनाइ छ ।
भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको थियो । त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको गुठियार डम्बरबहादुर श्रेष्ठ बताउछन ।
गुठियार श्रेष्ठले भने, “दोस्रोपटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो ।
त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको भनाइ छ ।
त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । त्यसैगरी २०३५ फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो । २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।
त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड हुन भएको थियो । त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो । २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।
तत्पश्चात सातवर्षको अन्तरालमा फेरि मङ्सिर ३० गते दिउँसो ३ः०० बजेदेखि ५ः०० बजेसम्म निरन्तर शिरबाट तीनधारा हँुदै पसिना आएको छ ।
यसरी पसिना आउदा पसिना आएको ६ महिनाभित्र मुलुकमा अनिष्ठ भएको सङ्केत देखा पर्दै आएकाले अब के हुन्छ भन्ने चिन्ता र चासो आम नागरिकमा रहेको छ ।
विगतका दिनमा पसिना आउँदा कवासले पसिना पुछि दरबारमा पु¥याउने प्रचलन रहेको थियो र दरबारमा पु¥याइएपछि स्थानीय प्रशासनको सहयोगमा पुनः भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि दरबारबाट मानिसहरू आई क्षमा पूजा गर्ने परम्परा रही आएको थियो ।
यसपटक भने भीमसेनको शिलामा आएको पसिना स्थानीय प्रशासनमार्फत राष्ट्रपति कार्यालय पठाइने व्यवस्था मिलाइएको गुठियार श्रेष्ठले जानकारी दिए ।
दैनिकरूपमा भीमेश्वर मन्दिरमा गुठियारहरूले अहिले पनि राज पूजा गर्दै आएका  छन् । आइतबार पनि राज पूजा सम्पन्न गरेलगत्तै भीमसेनको शिलामा पसिना आएको गुठियार श्रेष्ठले बताए ।    उनले भीमसेनको शिलामा पसिना आइरहँदा मन्दिर परिसरमा रहेका सम्पूर्ण घन्टहरू एकैसाथ बजाई आम भक्तजनमा जानकारी गराउने  प्रचलन रहेकाले घन्ट बजाइ भीमसेनलाई पसिना आएको जानकारी गराइएको बताए ।
भीमसेनको पसिना पुछेको कवास महाप्रसादको रूपमा ग्रहण गरिने प्रचलन रहेको हुनाले आइतबार दिनभर नै मन्दिर परिसरमा  भक्तजनको ठूलो घुइँचो लागेको थियो ।
यता दोलखाको अनुसन्धानमा लागि परिरहेका संस्कृतिविद् शान्ताकृष्ण श्रेष्ठले भीमसेनलाई पसिना आउँदा मुलुकमा केही उतारचढाव आउनसक्ने अनुमान गरे ।
भीमेश्वरको शिलालाई पसिना आएपछि परम्परागत मान्यताअनुसार तान्त्रिकले गोकुल धुपले भीमेश्वरको पूजा गर्दै क्षमा मागेका थिए । पसिना आएको अवधिभर पूजारी तथा स्थानीयले मन्दिर परिसरमा रहेको घन्ट नगराहरू ठूलो आवाज आउने गरी बजाएका थिए ।
पसिना हेर्न आउने मानिसहरूको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us