
काठमाण्डु, ३० मंसिर– नवनिर्वाचित संविधानसभा सदस्यलाई संविधान, ऐन, नियम, परिपत्रको पालना तथा स्वयम् सभासदले निर्वाह गर्नुपर्ने भूमिका र दायित्वबारेमा व्यवस्थापिका–संसद सचिवालयले प्रशिक्षित तुल्याउने भएको छ ।
मुलुकको मूल कानुन संविधान लेखनका लागि संविधानसभामा प्रवेश गर्ने सभासदलाई संविधानसभा, मातहतका समिति र व्यवस्थापिका–संसदका काम कारबाही तथा संविधान, ऐन, नियम, निर्देशिकालगायतका विषयमा न्यूनतम् ज्ञान दिएर संविधान लेखन कार्यलाई व्यवस्थित र सहज तुल्याउने उद्देश्यका साथ सचिवालयले सभासदका लागि यस किसिमको अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको हो ।
अघिल्लो संविधानसभाको काम कारबाहीको समीक्षा र अध्ययनको अनुभवको आधारमा सभासद्ले निर्वाह गर्नुपर्ने भूमिका, दायित्व तथा संविधान, ऐन नियम, निर्देशिका, सरकारी निर्णय र पत्रिपत्र के हुन् र त्यसको पालना कसरी गर्ने भन्ने बारेमा नवप्रवेशी सभासदको क्षमता अभिवृद्धिको लागि प्रशिक्षित तुल्याउने सोच राखिएको व्यवस्थापिका–संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
संविधानसभाको बैठक आह्वान गरिसकेपछि दलका पदाधिकारीसँगको छलफल र सहमतिका आधारमा कार्यक्रमको ढाँचा र मिति तय गरिने प्रवक्ता शर्माले बताए । अघिल्लो संविधानसभा तथा व्यवस्थापिका–संसदका बैठकमा कतिपय सभासदबाट भएका गतिविधि र मर्यादा विपरितका घटनाको सबै पक्षबाट आलोचना भएको थियो ।
यस्तो प्रशिक्षणले नियम, कानुनका साथसाथै आफूले निर्वाह गर्ने पर्ने दायित्वका बारेमा समेत न्यूनतम् जानकारी हासिल हुने तथा व्यवस्थापिका–संसद र संविधानसभाका काम कारवाही अझ बढी व्यवस्थित र सहजताका साथ अघि बढ्नसक्ने सचिवालयले विश्वास लिएको राससले जनाएको छ ।